सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

विद्युत, मोबाइल नेटवर्क र इन्टरनेटका लागिनार्पा भूमिको हारगुहार

विद्युत, मोबाइल नेटवर्क र इन्टरनेटका लागिनार्पा भूमिको हारगुहार

गाउँपालिकाले सूचना तथा सञ्चार प्रविधिमा आधारित सेवा सञ्चालनका लागि चितवनको भरतपुर महानगरपालिका–४ मा रहेको टेक माइन्ड्स नेटवर्क प्रालिसँग इन्टरनेट सेवा उपलब्ध गराउने सम्झौता गरेको थियो । तर, इन्टरनेट सेवा छिनछिनमा अवरोध हुँदा सञ्चालन भन्दा मर्मतमा बढी समय खर्च हुने गरेको छ ।


  • ढोरपाटन संवाददाता
  • चैत्र २६ २०८२, बिहिबार

पोखरा/हिमालपारीको जिल्ला मनाङको नार्पा भूमि गाउँपालिकाले टेलिफोन नेटवर्क र इन्टरनेट सेवाको कमजोर अवस्थाका कारण सरकारी सेवा प्रभावहीन बनेको भन्दै समस्या समाधानका लागि पहल गर्न नेपाल सरकारसंग आग्रह गरेको छ । साथै राष्ट्रिय प्रसार लाइनको विद्युत सेवा छिटो उपलब्ध गराउन पनि उसले माग गरेको छ ।

गाउँपालिकाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय (हेलो सरकार) र (शासकीय सुधार महाशाखा)लाई पत्राचार गर्दै टेलिफोन र इन्टरनेट सेवाको पहलका लागि आग्रह गरेको हो । यही चैत १० गतेका दिनपत्र पठाए पनि हालसम्म कुनै सुनुवाई नभएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाका अनुसार वडा नम्बर १ को नार गाउँ र वडा नं ५ को फू गाउँमा नेपाल टेलिकमको टावर रहे पनि प्राप्त सेवा स्थिर र गुणस्तरीय नभएको एवं पटक–पटक अवरुद्ध हुने गर्छ । गाउँपालिका केन्द्र च्याँखुसहित अन्य बस्तीहरूमा नेटवर्कको पहुँच नहुँदा दैनिक कामकाज र सूचना आदानप्रदान गर्नै नसकिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुशील लम्सालले बताए ।

लम्सालका अनुसार गाउँपालिकाले सूचना तथा सञ्चार प्रविधिमा आधारित सेवा सञ्चालनका लागि चितवनको भरतपुर महानगरपालिका–४ मा रहेको टेक माइन्ड्स नेटवर्क प्रालिसँग इन्टरनेट सेवा उपलब्ध गराउने सम्झौता गरेको थियो । तर, इन्टरनेट सेवा छिनछिनमा अवरोध हुँदा सञ्चालन भन्दा मर्मतमा बढी समय खर्च हुने गरेको छ ।

मोबाइल नेटवर्क नहुँदा र इन्टरनेट सेवा कमजोर भएका कारण सरकारी सेवाका लागि सञ्चालन गरिएका अनलाइन प्रणाली नचलेको र अनलाइन प्रणालीमा डाटा प्रविष्ट गर्न नसकिएको प्रमुख प्रशासकीय अधिकृत लम्सालले बताए । ‘अनलाइन प्रणालीमा डाटा प्रविष्ट गर्नकै लागि पालिका केन्द्रदेखि दुई दिन हिँडेर जिल्ला सदरमुकाम झर्नुपर्ने बाध्यता छ । वडाका पञ्जीकरण लगायत नागरिकता सिफारिस जस्ता नियमित सेवा अनलाइन प्रणालीमा सञ्चालन गर्न सकिएको छैन,’ उनले भने, ‘नेटवर्क अभावमा विपद्का घटनालाई द्रुत गतिमा नजिकैको स्वास्थ्य चौकी तथा प्रहरी चौकीमा सम्पर्क गर्न नसक्दा मानवीय क्षति भएका विगत र वर्तमानका घटना ताजै छन् ।’ पटक पटक प्रयास गर्दा पनि संभव नभएपछि अन्तिममा थाकेरै पत्र लेखेको उनले बताए । तर अहिलेसम्म कुनै सुनुवाई नभएको उनको भनाई छ ।

गाउँपालिका अध्यक्ष कोन्जो तेन्जिङ लामाले पनि पत्र पठाउने बेला नयाँ सरकार गठन भइनसकेको अवस्था रहेको र नयाँ सरकार गठनपछि केहीहुने आशा गरेकोमा अहिलेसम्म नभएको गुनासो गरे ।

दुर्गम क्षेत्रमा सञ्चार पूर्वाधार विस्तार नगर्दा डिजिटल प्रणालीमार्फत सेवा प्रवाह प्रभावकारी नहुने स्पष्ट पार्दै गाउँपालिकाले गुणस्तरीय र दिगो टेलिफोन तथा इन्टरनेट सेवा व्यवस्थापनको लागि यस्तो पत्राचार गरेको हो ।

गाउँपालिकाले उक्त पत्रलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल दूर सञ्चार प्राधिकरण र नेपाल टेलिकमलाई बोधार्थ समेत पठाएको छ ।

विद्युतलाई पनि गुहारियो
नार्पाभूमीले राष्ट्रिय प्रशारण लाईन विस्तार कार्यक्रम प्राथमिकता पार्नुपर्ने माग राख्दै नेपाल विद्युत प्राधिकरण, दरबारमार्ग, काठमाडौंलाई पनि पत्राचार गरेको छ ।

जिल्लाको चामे गाउँपालिका देखि नार्पा भूमि गाउँपालिकासम्म लाईन विस्तार कार्यक्रम १ वर्ष अघिदेखि सूचना प्राप्त भएको तथापि हालसम्म फिल्डमा कुनै पनि कामको सुरुवात् नभएको भन्दै पालिकाले पत्र पठाएको हो ।

‘भौगोलिक रुपमा गण्डकी प्रदेशकै अति विकट, दुर्गम स्थानमा रहेको अवस्थामा यस गाउँपालिकाले गर्ने दैनिक प्रशासनिक कामकाजमा विद्युतअभावका कारण कठिनाई भएको छ’, पत्रमा भनिएको छ, ‘साथै ईगभर्नेन्स जस्ता नीति कार्यान्वयन गर्न चुनौति समेत रहेको र विद्युत अभावमा यस क्षेत्रका नागरिकहरुको प्रमुख स्रोत मानिने पर्यटन व्यवसायमा समेत गम्भीर असर परेको छ ।’

यस कार्यालयबाट प्रदान गरिने सेवाहरु लिन गाउँपालिका केन्द्र तथा वडा कार्यालयबाट २ दिनको पैदलयात्रा गरी सदरमुकाम जानुपर्ने बाध्यात्मक अवस्था रहेको हुँदा पहिलो प्राथमिकतामा राखी राष्ट्रिय प्रशारण लाईन विस्तार कार्यक्रम जतिसक्दो चाँडो अघि बढाउन पालिकाले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->