सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

आत्मनिर्भर सहकारीले थाल्यो चाउमिन उत्पादन

आत्मनिर्भर सहकारीले थाल्यो चाउमिन उत्पादन


  • अमृत बास्कुने
  • चैत्र २६ २०८२, बिहिबार
filter: 0; fileterIntensity: 0.0; filterMask: 0; hdrForward: 0; brp_mask:0; brp_del_th:null; brp_del_sen:null; delta:null; module: video;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: null;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;HdrStatus: off;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: null;temperature: 39;

म्याग्दी/हिमाली जिल्ला म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङमा रहेको आत्मनिर्भर साना किसान कृषि सहकारी संस्थाले ग्रामीण भेकका कृषकहरूको उत्पादनलाई संगठित गर्दै आत्मनिर्भरता बढाउने उद्देश्यसहित उल्लेखनीय काम गर्दै आएको छ । मालिका–६ का तत्कालिन अध्यक्ष तथा हाल सहकारीका अध्यक्ष सन्तोष सुवेदीको अग्रसरतामा २०७६ माघ १६ गते स्थापना भएको सहकारीले उत्पादन, संकलन र बजारीकरणलाई मुख्य प्राथमिकतामा राख्दै आफ्नो गतिविधि विस्तार गरिरहेको छ ।

सहकारीका लेखापाल सृजना बुढाका अनुसार हाल सहकारी संस्थामा रहेका पाँच सय ३७ जना शेयर सदस्यहरुबाट ६९ लाख ५१ हजार ८ सय रुपैयाँ शेयर पुँजी जम्मा गरिएको छ । त्यसैगरी संस्थाका सदस्यहरुले ३९ लाख ३५ हजार ८ सय ५० रुपैयाँ बचत संकलन गरेका छन् भने सहकारीले आफ्ना सदस्यहरुलाई एक करोड ७६ लाख ४ सय रुपैयाँ ऋण लगानी गरेको छ ।

सहकारीका अध्यक्ष सुवेदीले कृषि उत्पादनका लागि गाउँमा उत्पादन लागत उच्च हुने हुँदा बजारीकरणमा कठिनाइ रहेको सुनाए । ‘विगतमा गाउँका कृषकहरूले उत्पादन आफैँ बोकेर बजारमा लगेर एक–एक केजी बेच्न खोज्दा देखिएको पीडाले सहकारी स्थापना गर्ने प्रेरणा मिल्यो,’ उनले भने । उत्पादन, संकलन र विभिन्न प्रयास गर्दा पनि बजारीकरणमा समस्या कायम रहेको समेत उनले बताए । राज्यको निकायबाट चिस्यान केन्द्र, संकलन तथा बजार व्यवस्थापनजस्ता आधारभूत सुविधामा सहजीकरण नहुँदा कृषकलाई विगत देखिनै चुनौती हुँदै आएको उनको भनाई थियो । स्थानीय उत्पादनमा लागत केही बढी हुँने र बाहिरबाट आउने सामग्रीहरु कम मुल्यमै आइपुग्ने हुँदा बजारीकरणमा केही असहजता छ । उपभोक्ताले स्थानीय उत्पादन विषादीरहीत हुने भए पनि बाहिरबाट आएका बिषादी प्रयोग गरेका सस्तो सामग्री नै खोज्ने हुँदा बजारीकरणमा केही समस्या देखिएको हो । ‘विषादी रहीत सामग्री हामीले उत्पादन गरेका छौं भन्ने कुरा बुझाउन नसक्दा पनि बजारमा हाम्रो सामग्रीको माग कम देखिएको हो’, अध्यक्ष सुवेदीले भने ।

सहकारीले हाल आफ्नो कार्यालयमै चाउमिन उत्पादन समेत सुरु गरेको छ । सहकारीले उत्पादन गरेको चाउमिन मंगला, मालिका र धवलागिरी गाउँपालिकामा मुख्य रुपमा बिक्रि हुने गरेको छ । चाउमिन बनाउने मिस्त्री तुलप्रसाद रोकाका अनुसार सिजनमा दैनिक १ सय केजीभन्दा बढी मैदाको चाउमिन उत्पादन हुने भए पनि अहिले अफ सिजनका कारण दैनिक करिब ६० केजी मैदाको चाउमिन उत्पादन भइरहेको छ । चाउमिनको बजार राम्रो भएकोले गर्दा अहिले सहकारीको आम्दानीमा चाउमिनले राम्रो भुमिका खेलेको रोकाको भनाई छ ।

सहकारीले कृषकहरूलाई मल, बिउबिजन वितरण गर्नुका साथै कृषि तालिम, उत्पादनमा प्राविधिक सहयोग र आवश्यक पुँजी व्यवस्थापनमा सहजीकरण गर्दै आएको छ । आफ्ना शेयर सदस्यहरुको आवश्यकतालाई मध्येनजर गर्दै साना किसान विकास बैंक तथा अन्य वित्तीय संस्थासँग समन्वय गरी सस्तो ब्याजदरमा ऋण उपलब्ध गराउने व्यवस्था मिलाइएको छ । सहकारीले कृषकलाई ७ देखि ९ प्रतिशत ब्याजदरमा कृषि ऋण उपलब्ध गराउँदै आएको छ भने व्यवसायिक प्रयोजनका लागि १० प्रतिशत ब्याजदरमा ऋण लगानी गर्ने गरेको अध्यक्ष सुवेदीको भनाई छ ।

सहकारीको मुख्य उद्देश्य कृषकहरूको जीवनस्तर उकास्नु रहेको भन्दै अध्यक्ष सुवेदीले गाउँका उत्पादनलाई प्राथमिकता दिँदै सहकारी अगाडि बढिरहेको बताए। सहकारीको नाम अनुसारै परनिर्भर होइन आत्मनिर्भर हुनु पर्छ भन्ने मुल ध्येय नै सहकारीको लक्ष्य रहेको उनले सुनाए ।

सहकारीले स्थानीय उत्पादनलाई प्रोत्साहन गर्दै बजारसम्म पहुँच विस्तार गर्ने प्रयास गरिरहेको भए पनि पूर्वाधार अभावका कारण अझै चुनौती सामना गर्नुपरेको सहकारीका सचिव अमृत सापकोटाले बताए । उनका अनुसार उचित नीतिगत सहयोग र संरचनात्मक विकास भएमा यस्ता सहकारीहरू ग्रामीण अर्थतन्त्र सुदृढ पार्न महत्वपूर्ण आधार बन्न सक्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->