म्याग्दी/ बेनी नगरपालिकाले ‘वडा पर्यटन परियोजना’ सञ्चालन गरेको छ । पर्यटकीय पूर्वाधारमा मौलिकता र नवप्रवर्तनलाई जोड दिन नगरपालिकाका १० वटै समेटेर परियोजना सञ्चालन गरेको हो ।
नगरप्रमुख सुरत केसीले सबै वडामा परियोजना सञ्चालन गर्नका लागि योजना छनोट गरी नगरपालिका, प्रदेश, सङ्घीय सरकार र निजी क्षेत्रसँग साझेदारी गर्ने नीति लिएको बताए । ‘म्याग्दी र कालीगण्डकी नदीको दोभानमा रहेको बेनी बजार मुस्ताङस्थित हिन्दु तथा बौद्ध धर्मावलम्बीहरूको साझा तीर्थस्थल मुक्तिनाथको प्रवेशद्वारका रूपमा परिचित छ’, उनले भने, ‘मुस्ताङ जाने र आउने पर्यटक तथा तीर्थयात्रीलाई बेनी बजार र आसपासका क्षेत्रमा भुलाउने, बसाइ लम्ब्याउने उद्देश्यले पूर्वाधार निर्माण र प्रचारप्रसारमा जोड दिएका हौँ ।’
बेनी–जोमसोम सडक भएर गत आर्थिक वर्षमा आठ लाख जना पर्यटक मुस्ताङ भ्रमणमा गएका थिए । सङ्घीय पर्यटन मन्त्रालयसँग वडा नं ५ को पछैमा उद्यान निर्माण गरेर हिन्दु धर्मग्रन्थ रामायणका पात्र रावणको २१ फिट अग्लो, १० वटा टाउको भएको, ढलोट धातुले बनेको र पित्तलको जलप लगाएको मूर्ति स्थापना गरेको नगरपालिकाले चालु आर्थिक वर्षमा गलेश्वर बजार सौन्दर्यकरण परियोजनालाई निरन्तरता, लभ्लीहिल पर्यटन पूर्वाधार र बेनीमा शान्ति पार्क निर्माण योजना अघि बढाएको छ ।
नगरपालिकाले रु ३० लाख बजेट विनियोजन गरेको गलेश्वर बजार सौन्दर्यकरण योजनामार्फत गलेश्वर शिवालय क्षेत्र विकास कोषसँग साझेदारी गरेर रु ४८ लाख ७४ हजारको लागतमा दुई ९५ मिटर दूरी सडकमा एक हजार ७१८ दशमलव पाँच घनमिटर स्लेट ढुङ्गा बिछ्याउने र ३० मिटर लामो नाली निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । २५–२५ लाख बजेट विनियोजन भएको लभ्लीहिल पर्यटन प्रवद्र्धन र शान्ति पार्क निर्माण योजना कार्यान्वयनको चरणमा रहेको नगरपालिकाले जनाएको छ । नगरपालिकाको पर्यटन प्रवद्र्धनका लागि चालु आर्थिक वर्षमा रु एक करोड चार लाख बजेट विनियोजन भएको उपप्रमुख ज्योति लामिछानेले बताइन् ।
बेनी बजारको दायाँतर्फ रहेको कालीगण्डकी नदी किनारमा निर्माण भएको चक्रपथको वडा नं ८ को भूगोलभित्र सडकको डिलमा रेलिङ राखेर फुटपाथ बनाउने र सडक बत्ती जडान गर्ने काम अन्तिम चरणमा पुगेको छ । वडा नं ८ मा रहेको एक सय वर्ष पुरानो गणेश मन्दिरमा पित्तलको छानो राखेर पुनर्निर्माण भएको छ ।





