बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

४५ दिन जङ्गलमै बसेर म्याग्दीका बासिन्दाले बनाए साढे चार किलोमिटर पदमार्ग

४५ दिन जङ्गलमै बसेर म्याग्दीका बासिन्दाले बनाए साढे चार किलोमिटर पदमार्ग


  • ढोरपाटन संवाददाता
  • बैशाख १ २०८३, मंगलबार

म्याग्दी / जिल्लाको अन्नपूर्ण गाउँपालिका–१ दोवाका बासिन्दाले साहस र जाँगरको अनुपम उदाहरण पेस गरेका छन्। गाउँदेखि निकै टाढा, भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा पदमार्ग निर्माण गर्नका लागि उनीहरूले करिब ४५ दिनसम्म जङ्गलमै बास बसेर काम सम्पन्न गरेका हुन्।

अन्नपूर्ण गाउँपालिका र मणीबराह युवा क्लबको साझेदारीमा दोवादेखि पातलखर्क, देउरालीडाँडा हुँदै हल्टुडे क्षेत्रसम्म ४ किलोमिटर ४०६ मिटर पदमार्ग निर्माण भएको छ। उपभोक्ता समितिका अध्यक्ष विकास पुनका अनुसार बस्तीदेखि टाढा भएकाले घरबाट आउजाउ गर्न समय लाग्ने भएपछि २३ जना स्थानीयवासीले निर्माणस्थलमै त्रिपालको गोठ बनाएर ४५ दिन बिताएका थिए।

यस योजनाका लागि अन्नपूर्ण गाउँपालिकाले चालू आर्थिक वर्षमा १० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो। जसमा मणीबाराही युवा क्लबले दशैँ मेलाबाट संकलित ४ लाख २५ हजार ७६५ रुपैयाँ थप गरेको थियो भने स्थानीयले १ लाख २४ हजार बराबरको श्रमदान गरेका छन्। ‘दोवामा पर्यटक भित्र्याउने, उनीहरूको बसाई लम्ब्याउने र स्थानीयस्तरमा रोजगारी सिर्जना गर्ने उद्देश्यले यो पूर्वाधार निर्माणमा जुटेका हौँ,’ अध्यक्ष पुनले भने।

पदमार्ग अनुगमनका क्रममा गाउँपालिका उपाध्यक्ष दिवा तिलिजा पुनले विकट ठाउँमा सरकारी बजेटमा क्लबले पैसा थपेर नमूना काम गरेको भन्दै प्रशंसा गरिन्। वडाध्यक्ष दिलीप गर्बुजाका अनुसार परापूर्वकालमा गोठ लेकबेँसी गर्दा प्रयोग हुने पुरानो बाटोलाई नै पदमार्गको रूपमा विकास गरिएको हो।

यो पदमार्गले चर्चित धौलागिरि आइसफल पदमार्गलाई दोवा गाउँसँग जोड्ने लक्ष्य राखेको छ। गुराँसे जङ्गल, पहाडी भूगोल र हिमशृङ्खलाको अवलोकन गर्न सकिने यो मार्गले आगामी दिनमा म्याग्दी र मुस्ताङको पर्यटनमा नयाँ आयाम थप्ने विश्वास गरिएको छ। स्थानीय जनप्रतिनिधिहरूले दोवालाई आइसफल हुँदै मुस्ताङसम्म जोड्ने बृहत् योजना अघि सारेका छन्।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->