बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

तोलाबाङ–दरवाङ सडकको काम छाडेर ठेकेदार बेपत्ता

तोलाबाङ–दरवाङ सडकको काम छाडेर ठेकेदार बेपत्ता

बेनी–दरवाङ सडकको मालिका गाउँपालिका–६ तोलाबाङदेखि दरवाङ जोड्ने सडक स्तरोन्नतिको काम रोकेर निर्माण कम्पनी सम्पर्कविहिन भएपछि पश्चिम म्याग्दी दरबाङ युवा क्लवको नेतृत्वमा सोमबार जिल्ला प्रशासन कार्यालय म्याग्दीमा ज्ञापनपत्र बुझाईएको छ ।


  • अमृत बास्कुने
  • बैशाख १ २०८३, मंगलबार

म्याग्दी/बेनी–दरवाङ–जलजला हुँदै रुकुम जोड्ने सडक खण्डको रणबाङ–दरवाङ खण्डअन्तर्गतको तोलाबाङदेखि दरवाङ जोड्ने सडक स्तरोन्नती छाडेर ठेकेदार बेपत्ता भएपछि स्थानीयले ध्यानाकर्षण गराएका छन् ।

म्याग्दीको पश्चिमसँगै डोल्पा, रुकुम तथा बागलुङ जोड्ने निकै महत्वपूर्ण सडक भएकाले पनि यसको स्तरोन्नती महत्वपूर्ण हुने म्याग्दी उद्योग बाणिज्य संघ मालिका गाउँपालिका समितिका उपाध्यक्ष अमृत सापकोटाको भनाई छ ।

बेनी–दरवाङ सडकको मालिका गाउँपालिका–६ तोलाबाङदेखि दरवाङ जोड्ने सडक स्तरोन्नतिको काम रोकेर निर्माण कम्पनी सम्पर्कविहिन भएपछि पश्चिम म्याग्दी दरबाङ युवा क्लवको नेतृत्वमा सोमबार जिल्ला प्रशासन कार्यालय म्याग्दीमा ज्ञापनपत्र बुझाईएको छ ।

सडक अलपत्र हुँदा नियमित रुपमा सञ्चालन हुने ठुला सवारीसाधनले सडकलाई धुलाम्य बनाउँदा पैदलयात्री, विद्यार्थीले सडकमा यात्रा गर्न बाध्य भएपछि क्लबको अगुवाईमा ध्यानाकर्षण गराउँदै ज्ञापन बुझाएका हुन् । दरवाङ क्षेत्रका विभिन्न ७ वटा टोलविकास संस्था, संस्थागत तथा सामुदायिक विद्यालय लगायत सरोकारवाला निकायले जिल्ला प्रशासन कार्यालयमा ध्यानार्कषणसहित सोमबार ज्ञापनपत्र बुझाएका हुन् ।

प्रमुख जिल्ला अधिकारी रबिन्द्र आचार्यलाई ज्ञापनपत्र बुझाउँदै तत्काल निर्माण कम्पनीलाई अपुरो सडकलाई पूर्णता दिन अनुरोध गरिएको पश्चिम म्याग्दी दरबाङ युवा क्लबका अध्यक्ष नगेन्द्र मल्लले बताए ।

सडक अलपत्र छोडेर निर्माण कम्पनी सम्पर्कविहिन भएपछि अब बाटो सम्पन्न नहुदाँसम्म चरणबद्ध आन्दोलनमा गर्ने स्थानीय अडानमा छन् । पश्चिम म्याग्दी दरवाङ युव क्लवले लोकेन्द्र पुनको नेतृत्वमा दबाबमुलक कार्यक्रमको संयोजन समेत गरेको छ ।

प्रजिअ आचार्यले निर्माण कम्पनीलाई ताकेता गरिएको बताउँदै म्याग्दी जिल्लामा अलपत्र रहेका सडकलाई पूर्णता दिन अनुगमन तथा निर्माण पक्षलाई लिखित सहमति समेत गराइएको बताए ।

२०७६ जेठ ३१ गते निर्माण कम्पनी बिरुवा–क्याराभान र पूर्वाधार विकास कार्यालय म्याग्दीबीच २२ करोड ५७ लाख ९ सय ३२ मा ठेक्का सम्झौता भएको थियो । २०७८ जेठमा सकिनुपर्ने योजनाको हालसम्म भौतिक प्रगति ८७ प्रतिशत रहेको छ । यस सडकका निर्माण ब्यवसायीले प्रतिबद्धता जनाएपनि अहिलेसम्म काम पूरा गरेका छैनन् ।

मालिकाको केन्द्र दरवाङ जोड्ने सडक स्तरोन्नति दुई वर्षमा सम्पन्न गर्ने लक्ष्यसहित छ वर्षअघि आयोजना सुरु भएको थियो । गत असार महिनायता सडक निर्माणको काम भएको छैन । चैत महिनासम्म ठेक्काको म्याद रहेको योजनाका ठेकेदारलाई काममा फर्कन लिखित र मौखिक रूपमा गरिएको भए पनि हाल सम्म ठेकेदारले काममा मजदुर लगाएका छैनन् ।

सदरमुकाम बेनीसँग जोड्ने २४ किमीको बेनी–दरवाङ सडक विसं २०६३ मा मार्ग खुलेको थियो । निर्माणस्थलमा काम गरेका मजदुरले समेत ज्याला नपाएको भन्दै पटकपटक आन्दोलन समेत गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->