
बागलुङ/डेढ वर्षअघि मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई जिताउन प्रदेशसभा सदस्य दिपक मनाङे सहितका नेतालाई जोड्न भूमिका खेलेर पनि मन्त्री नपाएका जितबहादुर शेरचन अन्ततः गण्डकी प्रदेशको आर्थिक मामिला मन्त्री बन्न सफल भएका छन् ।
प्रदेशसभाका लागि नै उनले दुइ पटक असफलता भोगेका थिए । तर त्यसपछिको सफलताले मन्त्री पदमा पु¥याएको छ । विद्यार्थी राजनीतिमा त उनी सक्रिय थिए । पार्टी राजनीतिमा भने धेरै समय लागेका थिएनन् । तरपनि लामो समय लागेका नेतालाई पछि पार्दै कांग्रेस बागलुङका सभापति बन्न सफल शेरचनले गण्डकी प्रदेशको अन्तिम समयको बजेट बनाउने मौका पाएका छन् ।
मुख्यमन्त्री सुरेन्द्र पाण्डेले बुधबार गठन गरेको नयाँ मन्त्रीपरिषदमा शेरचनले आर्थिक मामिला मन्त्रालयको जिम्मा पाएका हुन् । सांसद बनेको तेस्रो वर्षमा उनले मन्त्री पद हात पारे ।
२०७४ अघिसम्म शेरचन विद्यार्थी राजनीतिमै सिमित थिए । महाधिवेसन प्रतिनिधि बनेका शेरचनलाई प्रदेशसभामा कांग्रेसले पहिलो पटक टिकट दियो । बागलुङ क्षेत्र नं. २ (२) बाट एमाले, माओवादी सहितको गठबन्धनबाट उमेदवार बनेका राष्ट्रिय जनमोर्चाका टेकबहादुर घर्तीसँग उनी पराजित भए । एक वर्षभित्र घर्तीको निधनपछि सोही क्षेत्रको उपनिर्वाचनमा पनि शेरचन उमेदवार बने । तर उक्त समय पनि गठबन्धनले राजमोकै खिमबिक्रम शाही उमेदवार बनायो र एक्लै लडेको कांग्रेस पराजित भयो ।
तेस्रो प्रयासमा उनले उक्त क्षेत्र छाडेर बागलुङ क्षेत्र नं. २ (१) रोजे । २०७९ को निर्वाचनमा भने उनले एमालेको समर्थन पाएका स्वतन्त्र उमेदवार प्रकाश घर्तीलाई पराजित गरेर प्रदेशसभा प्रवेश गरेका थिए । त्यतिबेला उनी कांग्रेस जिल्ला सभापति भैसकेका थिए ।
बागलुङको तमानखोला २ सिलबुङ घर भएका शेरचन २०५३ सालमा जनजागृति माविमा नेपाल विद्यार्थी संघको इकाई अध्यक्ष भएर राजनीतिमा उदाएका थिए । बाबु दलबहादुर आमा मनि शेरचन सामान्य कृषि पेशामै आबद्द भएपनि उनले भने राजनीतिक क्षेत्र रोजे । त्यसपछि कांग्रेसको भातृ संगठनमा सक्रिय हुँदै २०६२ सालमा काठमाण्डौंस्थित महेन्द्ररत्न क्याम्पस ताहाचलको स्ववियु सभापतिमा निर्वाचित भए । जनआन्दोलन २०६२÷०६३ देखिनै उनी कांग्रेस नेता गगनकुमार थापासँग निकट भएका शेरचनले पूर्व महामन्त्री कृष्ण सिटौला समूहमा आबद्द थिए । आन्दोलनमा उनी ३ पटकसम्म प्रहरी हिरासतमा परेका थिए ।
तीन पटकसम्म महाधिवेसन प्रतिनिधि निर्वाचित शेरचन कांग्रेस नेता कृष्ण सिटौला समूहका रुपमा चिनिन्छन् । चौधौ महाधिवेसनमा भने उनले सिटौला समूहमा लागेर देउवा समूहलाई जिताउन सक्रिय भए । जसका कारण बागलुङमा पनि उनले देउवा समूहको साथ पाएर सभापति बन्न सके ।





