शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

केश श्रृंगार र खाना बनाउने तालिम सकियो

केश श्रृंगार र खाना बनाउने तालिम सकियो


  • ढोरपाटन संवाददाता
  • बैशाख ५ २०८३, शनिबार

बागलुङ/एकीकृत सेवा कार्यालय बागलुङको आयोजनामा सञ्चालित दुइवटा तालिम एकैपटक समापन भएका छन् । कार्यालयले आयोजना गरेको एक महिने केश श्रृंगार तालिम र १५ दिने नेपाली खाना बनाउने तालिम समापन गरिएको हो ।

कार्यालयले सञ्चालन गरेको एक महिने लोकसेवा तयारी कक्षा तालिम पनि समापन गरिएको छ । समापनलाई कार्यालयले सेवा प्रदायक संस्था र तालिमका विद्यार्थीबीचको साक्षात्कार कार्यक्रमको नाम दिएको छ ।

तालिममा केश श्रृंगारतर्फ २३ जना र खाना बनाउनेतर्फ २० जनाले तालिम पाएको कार्यालय प्रमुख शिवप्रसाद शर्माले बताए । तालिमलाई फलदायी बनाउन उनीहरुको रोजगारीको खोजीमा कार्यालयले वातावरण बनाउने शर्माले जानकारी दिए । उनले थप सीप दिन नगरपालिका वा अन्य संस्थाको सहकार्यमा कार्यक्रम अगाडि बढाउने उनले बताए ।

उक्त अवसरमा तालिमका सहभागिलाई प्रमाणपत्र दिंदै जिल्ला समन्वय समितिका प्रमुख अमर थापाले सीप सिकेर मात्र दक्ष नभइने भन्दै काममा हात हालेपछि मात्र दक्षता आउने बताए । ‘काम गरेपछि सीप बढ्दै जान्छ, कमजोरी पनि पहिचान हुन्छ’ उनले भने, ‘कमीकमजोरी सुधार गर्न थप सीप चाहिन्छ ।’ त्यतिबेला कमजोरी सुधारेर दक्ष कामदार बन्ने मौका आउने उनले बताए ।

चालु वर्ष नै स्थापना भएको एकीकृत सेवा कार्यालयले २ सय १७ वटा भौतिक निर्माणका योजना समेत संचालन गरेको छ भने सामाजिक विकास तर्फका कार्यक्रमलाई प्रभावकारी बनाउन नसकेको भन्दै शर्माले आगामी दिनमा योजनाबद्द काम गर्ने बताए । त्यसका लागि दक्ष जनशक्ती समेत बढाउनुपर्ने बताए ।

कार्यालयका प्रमुख शिव शर्माको अध्यक्षता, श्याम थापाको संचालनमा सम्पन्न कार्यक्रममा बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्का, होटल व्यवसायी महासंघ गण्डकी प्रदेशका अध्यक्ष अर्जुन चोखाल, जिल्ला अध्यक्ष निलेस राजभण्डारी, बिवाईसी बागलुङका अध्यक्ष तोयानाथ गौतम, नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष राम थापा ‘अविरल’, सौन्दर्यकला व्यवसायी संघकी अध्यक्ष पार्वती अधिकारी, तालिमकी सहजकर्ता चन्द्रकला छन्त्याल लगायतले मन्तव्य राखेका थिए ।

आयोजकले सहभागिलाई प्रमाणपत्र वितरण गरेको थियो । खाना बनाउने तालिमका लागि होटल पर्वले प्राविधिक र स्थान उपलब्ध गराएर सहयोग गरेको थियो ।

पछिल्लो समय होटल व्यवसाय बढेपनि राम्रो खाना बनाउने कुक, सेफ लगायतको अभाव भएकोले यस्तो तालिमले दक्ष जनशक्ती उत्पादनमा सहयोग पुग्ने सहभागिले बताएका छन् । लोकसेवा आयोगको तयारीका लागि भने महिला, दलीत र जनजाती सहभागिलाई प्राथमिकता दिइएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->