बागलुङ / गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री जीत शेरचनले प्रदेशका गौरवका आयोजनालाई अघि बढाउने बताएका छन् । नेपाली काँग्रेस बागलुङले शनिवार आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै मन्त्री शेरचनले आगामी बजेटमा प्रदेशका गौरवका आयोजना कामको पहिलो प्राथमिकतामा पर्ने बताए ।
मन्त्री शेरचनले आर्थिक पारदर्शिता कायम गर्दै खर्च व्यवस्थापनमा सुधार गर्ने र ठूला योजना सघाउने गरी कामलाई अगाडि बढाउने बताए । । अर्थ मन्त्रालय केवल बजेट व्यवस्थापनमा सीमित नभई प्राविधिक विषयसँग पनि जोडिएको महत्वपूर्ण मन्त्रालय भएकोले उनले करको दर र दायरा, आर्थिक नीति निर्माण लगायतका विषयमा गहन अध्ययन भइरहेको जानकारी दिए ।
मन्त्री शेरचनले प्रदेशमा पूँजीगत खर्च अपेक्षाकृत कम भएको उल्लेख गर्दै यसको कारण खोजी गरी विकास खर्च बढाउनेतर्फ ध्यान दिने बताए । कार्यकर्तासामु उनले छोटो समयमै परिणाममुखी काम गरेर देखाउने प्रतिबद्धता समेत व्यक्त गरे । उनले बागलुङको उत्तरगंगा परियोजनालाई अघि बढाउन आफ्नो तर्फबाट पहल गर्ने समेत बताए ।
नेपाली काँग्रेसका जिल्ला सभापति समेत रहेका शेरचनले कांग्रेसलाई पुरानो अवस्थामा फर्काउन सुध्रिदै सामुहिक भावना अपनाउन आग्रह गरे । प्रतिनिधिसभा निर्वाचनमा काँग्रेसको सिट घटे पनि पार्टी कमजोर नभएको दाबी गर्दै उनले आगामी दिनमा पार्टीलाई अझै सशक्त रूपमा अघि बढाउन सवै लाग्नुपर्नेमा जोड दिए ।





