पोखरा/ पोखरा–२५ हेमजामा आयोजित १४ औं राष्ट्रिय हेमजा आलु महोत्सव ५ करोड बढीको कारोवार शनिवार सम्पन्न भएको छ । महोत्सव गत चैत २७ गतेबाट सञ्चालन भएको थियो ।
महोत्सवको अन्तिम दिन शनिबारसम्म महोत्सवस्थलबाट ३६ लाख बढीको आलु बिक्री भएको छ । महोत्सवमा रहेका कृषि तथा अन्य व्यापारिक स्टल सबैबाट गरी ५ करोड बढीको कारोवार हुन सफल भएको आयोजक विष्णुपादुका क्लवका अध्यक्ष वसन्तकुमार श्रेष्ठले जानकारी दिए । त्यहाँ आलुको परिकारको एउटा स्टलका अलवा कृषितर्फ ३० तथा एक सय बढी व्यापारिक स्टल थिए । त्यस्तै १ लाख बढी दर्शकले महोत्सव अवलोकन गरेको पनि आयोजकको भनाई छ ।
महोत्सव समापन गर्दै पोखरा महानगरपालिका प्रवक्ता समेत रहेका पोखरा २५ का अध्यक्ष मोतिलाल तिम्सिनाले आलु महोत्सव हेमजा तथा समग्र पोखरा क्षेत्रकै व्राण्ड बनेको बताउँदै स्थानीय कृषि उपजलाई प्रवद्र्धन गर्न महोत्सव सफल भएको जनाए । पोखरा महानगरले पर्यटनसँगै कृषिलाई सँगसँगै जोडेको उल्लेख गर्दै तिम्सिनाले महोत्सवसँगै कृषिमा होमिन हौसला मिलेको भनाई राखे । सबैको सत्प्रयासले महोत्सव सफल भएको उनको भनाई थियो ।
पोखरा महानगरपालिका आर्थिक महाशाखा प्रमुख मनहर कडरियाले आलु महोत्सवले निरन्तरता पाउनु खुशीको कुरा भएको सुनाउँदै हेमजालाई तरकारी साथै मौरी क्षेत्र बनाउन महानगर लागि परेको उल्लेख गरे । महोत्सवका माध्ययम मार्फत बजारको पैसा कृषकको हातहातमा पुगेको उनले बताए
आयोजक विष्णुपादुका क्लवका अध्यक्ष वसन्तकुमार श्रेष्ठले सरोकारवाला सबैले जिम्मवारी पुरा गरेका कारण महोत्सव सफल भएको उल्लेख गर्दै क्लवले सामाजिक उत्तरदायित्वपूर्ण क्रियाकलापलाई निरन्तरता दिने प्रतिबद्धता जनाए । महोत्सव अन्तर्गत भएको रत्यौली गीत प्रतियोगितामा सहनशील दिदीबहिनी समूह प्रथम, कमलजौंसी आमा समूह द्वितीय, गौरीशंकर आमा समूह तृतीय तथा खुट्टेगौंडा लामाचौतारा आमा समूह र चापाघाट आमा समूह सान्त्वना भए । प्रथम, द्वितीय, तृतीय र सान्त्वना भएसँगै ति समूहले क्रमशः नगद रु. १० हजार, ८ हजार, ५ हजार साथै ३ हजारका साथमा प्रमाणपत्र पुरस्कार प्राप्त गरे ।
त्यसैगरी कृषि झाँकी ¥याली संघसंस्थातर्फ नेवा खलः पहिलो, मातृकेश्वर एकता भजन समूह दोस्रो, आराध्या भजन समूह तेस्रो भए । आमा समूहको कृषि झाँकीतर्फ चापाघाट आमा समूह प्रथम, देवीस्थान आमा समूह दोस्रो, लालीगुराँस आमा समूह तेस्रो, लक्ष्मी आमा समूह र तिब्रकोट आमा समूह क्रमशः सान्त्वना भए । त्यस्तै नृत्यतर्फ जनकल्याण आमा समूहले उत्कृष्टता हासिल गर्दै खसी पुरस्कार जित्न सफल भयो ।
महोत्सबमा शनिबार कलाकारहरु प्रकाश सपुत, प्रेमराज अधिकारी, नेत्र खड्का, सीता परियार, ममता तामाङ लगायतका प्रस्तति रहे । यसपालि हेमजामा आलु खरिद गर्नकै लागि पोखरा लगायत छिमेकी अन्नपूर्ण एवम् माछापुच्छे« गाउँपालिका, स्याङजा, चितवन, तनहुँ, पर्वत, मुस्ताङ, बाग्लुङ, सुनसरी, रुपन्देही लगायतका जिल्लाबाट मानिसहरु पुगेका थिए ।
‘सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँः आलु एक परिकार अनेक’ भन्ने मूल नाराका साथ महोत्सव गरिएको हो ।महोत्सवको आकर्षणका रुपमा आलु तथा ताजा तरकारीको प्रदर्शन, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार रहेका थिए । त्यस्तै कृषक तथा कृषि सम्बन्धी विविध सांस्कृतिक कार्यक्रम, कृषि झाँकी प्रतियोगिता, चर्चित कलाकारहरुका दैनिक प्रस्तुति साथै विभिन्न कृषि उपज, वीउविजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी पनि गरिएको थियो ।
महोत्सव मूल आयोजक समितिका संयोजक श्रेष्ठको अध्यक्षतामा भएको समापन कार्यक्रम मूल आयोजक समितिका महासचिव विकल थापाले संचालन गरे।





