आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

कालीगण्डकीका ढुङ्गामा कला भरिँदैः मुस्ताङको घरपझोङमा ‘राष्ट्रिय मूर्तिकला कार्यशाला’ सुरु

कालीगण्डकीका ढुङ्गामा कला भरिँदैः मुस्ताङको घरपझोङमा ‘राष्ट्रिय मूर्तिकला कार्यशाला’ सुरु


  • ढोरपाटन संवाददाता
  • बैशाख ७ २०८३, सोमबार

मुस्ताङ/ हिमाली जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिकामा नेपाली कला, संस्कृति र परम्परालाई ढुङ्गामा उतार्ने उद्देश्यका साथ १५ दिने ‘घरपझोङ राष्ट्रिय मूर्तिकला कार्यशाला २०८३’ सुरु भएको छ ।

घरपझोङ गाउँपालिका र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, काठमाडौँको संयुक्त आयोजनामा सञ्चालित यो कार्यशाला वैशाख ७ गतेदेखि सुरु भई वैशाख २३ गतेसम्म चल्नेछ ।

कार्यशाला अन्तर्गत गाउँपालिकाका विभिन्न पर्यटकीय क्षेत्र र कालीगण्डकी नदी किनारमा रहेका प्राकृतिक ढुङ्गाहरूमा विभिन्न आकृति र मूर्तिहरू कुँदिनेछन् । विशेषगरी गाउँपालिकाको प्रशासनिक भवन नजिकैको बगर, धौलागिरी बोर्डिङको पूर्वी भाग, काठेपुल नजिक र स्याङ गाउँको पुल्चोक मुनिको कालीगण्डकी किनारलाई कार्यस्थल बनाइएको छ ।

यस ऐतिहासिक कार्यशालामा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका मूर्तिकार तथा सहयोगी कलाकार गरी करिब ४० जनाको टोली सहभागी छ । उनीहरूले स्थानीयस्तरमा उपलब्ध ढुङ्गाहरूलाई नेपाली धर्म, संस्कृति, भाषा र साहित्य झल्किने कलाकृतिमा रूपान्तरण गरिरहेका छन् । सहभागी कलाकारहरूको बसोबासको व्यवस्था गाउँपालिकाको प्रशासनिक भवन नजिकैको सभाहलमा मिलाइएको छ ।

गाउँपालिकाको ५६औँ कार्यपालिका बैठकको निर्णय अनुसार यो कार्यक्रम अघि बढाइएको हो । गाउँपालिकाका अध्यक्ष मोहन सिंह लालचनका अनुसार घरपझोङलाई एक विशिष्ट सांस्कृतिक पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न यो कार्यशालाले महत्वपूर्ण भूमिका खेल्नेछ । ‘हाम्रो लक्ष्य यहाँका सांस्कृतिक सम्पदाको विकास र प्रवद्र्धन गर्दै वातावरण संरक्षण र दिगो विकासमा टेवा पुराउनु हो,’ अध्यक्ष लालचनले भने ।

कार्यशालालाई व्यवस्थित र सुरक्षित रूपमा सम्पन्न गर्नका लागि जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय, मुस्ताङसँग समन्वय गरी आवश्यक सुरक्षा प्रबन्ध मिलाइएको छ । चालू आर्थिक वर्षको स्वीकृत पर्यटन प्रवद्र्धन तथा पूर्वाधार विकास शीर्षकबाट यस कार्यक्रमको खर्च व्यवस्थापन गरिएको गाउँपालिकाले जनाएको छ ।

यो कार्यशाला सम्पन्न भएसँगै मुस्ताङ पुग्ने पर्यटकहरूका लागि कालीगण्डकी किनारका यी कलात्मक मूर्तिहरू नयाँ आकर्षणको केन्द्र बन्ने विश्वास लिइएको छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->