बागलुङ/बागलुङ कालिका भगवती मन्दिर व्यवस्थापन समितिले भूपेन्द्र खड्का अध्यक्ष भएर आएपछिको आयव्याय सार्वजनिक गरेको छ । मंगलबार पत्रकार सम्मेलन गरेर समितिले गत माघ, फागुन र चैतको आय सार्वजनिक गरेको हो ।
गुठीका अनुसार सबैभन्दा धेरै चैत महिनामा ७६ लाख आय भएको छ । चैतेदशैं मेला लगायतको व्यवस्थापनका कारण सो समयमा ४७ लाख खर्च गरेर २८ लाख कमाइ भएको छ । त्यस्तै फागुन महिनामा ३५ लाख कमाइ गरेर ५ लाख ५२ हजार खर्च गरी ३० लाख बचत गरेको बताइएको हा । माघ महिनामा पनि २५ लाख कमाइ, ६ लाख ६४ हजार खर्च गरी १९ लाख ८२ हजार बचत गरेको जनाइएको छ ।
माघको ६ गते नियुक्त भएपछि अध्यक्ष भूपेन्द्र खड्काले आफ्नो कार्यकालको समीक्षा गर्दै अहिले सम्मको आय पनि सार्वजनिक गरेका हुन् । उनले यसअघिका अध्यक्ष कुमार खड्काबाट तत्काल पदस्थापन नभएपछि व्यवस्थापनमा केही कठिनाइ भएपनि अहिले सम्मको कामलाई पारदर्शी बनाउने काम गरेको बताए ।
कालिका मन्दिरमा चैतेदशैंको अवसरमा चैत महिनामा बढी भक्तजन आउने गरेका थिए भने अन्य महिनामा सामान्य अवस्था रहन्छ । चैत महिनामा भक्तजनले चढाएका चामल, आर्थिक सहायोग, बलीबाट आउने कमाइ समेत गरी ७६ लाख ४२ हजार रुपैयाँ आम्दानी भएको हो । समितिले अन्य महिनाको पनि विस्तृत विवरण जानकारी गराएको हो ।
चैतेदशैंमा समितिले मेला समेत आयोजना गरेको थियो । मेलामा ३ लाख राशीको कालीका कप खुला पुरुष भलिबल प्रतियोगिता राखेको थियो । मेला व्यवस्थापन, पुजा व्यवस्थापन, भीड व्यवस्थापनका लागि स्वयंसेवक परिचालन, सुरक्षा खर्च समेत गरेर चैत महिनामामात्रै २८ लाख ७५ हजार रुपैयाँ बचत गरेको अध्यक्ष खड्काले जानकारी दिए ।
समितिका अनुसार चढाएको चामल बिक्रीबाट मात्रै २ लाख ३७ हजार आय भएको छ । त्यस्तै बोकाको टाउको बिक्रीबाट ३ लाख २९ हजार, कुखुराबाट ४४ हजार ६ सय, राँगोबाट ११ हजार कमाइ भएको हो । मन्दिरको गेटमा रहेका सटर भाडाबाट ९ लाख ७१ हजार कमाई भएको थियो । त्यस बाहेक विभिन्न दाताले मन्दिरमा दिएको आर्थिक सहयोगबाट २ लाख ८७ हजार, परेवा बिक्रिबाट १५ लाख २७ हजार आय भएको छ । यहाँ आउने भक्तजनले ५ सय रुपैयाँ तिरेर परेवा उडाउने व्यवस्था छ ।
बडादशैं र चैतेदशैंमा कालिका मन्दिरमा सयौं भक्तजन आउने गर्छन् । उनीहरुले चढाउने भेटीबाटै मन्दिरले करोडौंको पुर्वाधार निर्माण समेत गर्दै आएको छ । यो अबधिमा पनि मन्दिर व्यवस्थापनले ५ लाख ७० हजारको पूर्वाधार निर्माण गरेको छ । मेला सम्पन्न गर्न २० लाख खर्च गरेको समितिले कार्यालय व्यवस्थापनका लागि पनि चैतको आयबाट ५ लाख खर्च गरेर फर्निचर खरिद गरेको हो । चैतेदशैंमा मात्र २ लाखबढी भक्तजन आएको अनुमान छ । धार्मिक पर्यटनको लागि कालीका मन्दिर प्रसिद्ध बन्दै गएको छ ।





