बागलुङ/बागलुङ जेसीज वर्ष २०२४ का अध्यक्ष गणेश महतोद्वारा लिखित ‘वाणिको उडान’ नामक पुस्तक सार्वजनिक गरिएको छ । बुधबार एक कार्यक्रमबीच बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठ सहित विभिन्न सरोकारवालाले पुस्तक विमोचन गरे ।
सो अवसरमा श्रेष्ठले बोलीकै कारण मानिसको व्यक्तित्व झल्कने भन्दै सही स्थानमा सही कुरा बोल्ने मानिस नै सफल बन्ने पनि बताए । जेसीज अभियानमा लाग्दा महतोले सिकेको कुरालाई पुस्कतमा उतार्दा पछिल्लो पुस्तालाई समेत फाइदा पुगेको उनको भनाइ थियो ।
सर्लाही घर भएपनि महतो २० वर्षदेखि बागलुङमा बस्दै आएका छन् । उनी आँखा उपचार व्यवसायमा पनि संलग्न छन् । जेसीजमा रहेको बेला महतोको शाखा उत्कृष्ट भएको थियो । सोही आधारमा उनी सफल अध्यक्षको रुपमा पनि चिनिन्छन् ।
पुस्तकका समीक्षक तथा सम्पादक प्रा.डा. दिनबहादुर थापाले बोल्ने कलाले मानिसलाई समाजमा चिनाउने बताए । साथै, उनले मानिस विवेक भएको प्राणी अझै बन्न नसकेको भन्दै अध्ययनले मात्र मानिसलाई विवेकशिल बनाउने बताए ।
जेसीजका पुर्व अध्यक्ष तथा लिर्डस क्लबका अध्यक्ष पार्वती अधिकारीको अध्यक्षता, पत्रकार ताराप्रसाद शर्मा ‘स्टार’को संचालन र जेसीज वर्ष २०२६ की अध्यक्ष अन्जिला श्रेष्ठको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।





