आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

चौरीपालक किसानलाई रेनकोट वितरण

चौरीपालक किसानलाई रेनकोट वितरण


  • ढोरपाटन संवाददाता
  • बैशाख १० २०८३, बिहिबार
????????????????????????????????????

मुस्ताङ/याक चौरी पालन गर्ने किसानलाई रेनकोट वितरण गरिएको छ । मुस्ताङको थासाङ गाउँपालिकामा याक चौरी पालन गर्ने २६ घरधुरी किसानलाई कृषि तथा पशु विकास कार्यालय मुस्ताङले रेनकोट वितरण गरेको हो ।

राष्ट्रिय याक दिवस २०८३ को उपलक्ष्यमा बुधवार जिल्लास्थित थासाङको घट्टे खोलामा आयोजित दोस्रो राष्ट्रिय याक चौरी दिवसको समापन अवसरमा मुस्ताङका उच्चलेक, खर्क र पाटनका चरनक्षेत्रहरुमा याक चौरी चराउने बेला पानी परेर याक चौरी रेखदेख गर्ने गोठालालाई समस्या हुने गरेकाले उनीहरुको प्रोत्साहनका लागि रेनकोट वितरण गरिएको कृषि तथा पशु विकास कार्यालय मुस्ताङका प्रमुख एवम् पशु चिकित्सक डा. लालमणि अर्यालले जानकारी दिए ।

थासाङ गाउँपालिकाका अध्यक्ष प्रदिप गौचन, उपाध्यक्ष सोमल हिराचन, वडाध्यक्ष हरी गौचन, याक चौरी महासङ्घका केन्द्रीय सचिव सोजन हिराचन र कार्यालय प्रमुख डा. अर्यालसहितको टोलीले याक चौरी पालक किसानलाई पानी पर्दा लगाउने रेनकोट हस्तान्तरण गरेको हो ।

सो अवसरमा याक चौरी महासङ्घका केन्द्रीय सचिव हिराचनले सरकारी स्तरबाट हुने यस प्रकारका कृषक प्रोत्साहन कार्यक्रमले लोपोन्मुख अवस्थामा रहेको याक चौरी पालन व्यवसायको संरक्षण हुने उल्लेख गर्दै हिउँदयाममा बस्ती र बर्खायाममा उच्चलेक र पाटनहरुमा घुम्ती गोठ खडा गरी पालन गर्नुपर्ने जोखिम र चुनौतीपूर्ण व्यवसाय याक चौरीलाई सरकारले उच्च प्राथमिकतामा राखिनुपर्ने बताए । जलवायु सङ्कटका कारण चरन क्षेत्र र वन्यजन्तुको आक्रमणको जोखिमले याक चौरी पालनका लागि चरनक्षेत्र असुरक्षित बन्दै जान थालेकामा उनले चिन्ता व्यक्त गरे ।

थासाङ गाउँपालिकाका अध्यक्ष गौचनले मुस्ताङको ऐतिहासिक तथा साँंस्कृतिक धरोहरको रुपमा रहेको परम्परागत याक चौरी पालन यहाँको किसानका लागि जिविकोपार्जनको मुख्य स्रोत मात्रै नभई साँस्कृतिक सम्बन्ध रहेको बताए ।

सरकारले याक चौरी पालनलाई जोगाउन वन्यजन्तु तथा प्राकृतिक विपद्मा परी याक चौरी क्षति भएमा ८० प्रतिशत बिमा सुनिश्चित गरेको छ । थासाङमा याक चौरी पालन व्यवसायको संरक्षण, प्रवद्र्धन र पुस्तान्तरणका लागि संस्थागत रुपमा जिल्ला स्तरीय हिमालयन चौरी पालन तथा संरक्षण समिति गठन भएसंगै नयाँ याकचौरी पाल्ने किसान उत्साहित भएका छन् ।

थासाङमा चालु आर्थिक वर्ष नयाँ याकचौरी व्यवसाय सुरु गर्ने पाँच घरधुरी थपिएका छन् । थासाङको टुकुचेमा २, कोवाङमा १ र झिप्रा देउरालीमा २ घरधुरीले याकचौरी पालन सुरु गरेका हुन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->