पोखरा/पोखरा महानगरपालिका वडा नं. १६ का विपन्न वर्गका महिलालाई बाख्रा वितरण गरिएको छ ।
उनीहरुको आयआर्जनमा सहयोग पु¥याउने उद्देश्यले अम्विका भागवत फाउन्डेशन र सम्झना सामाजिक सेवा समितिको सहकार्यमा त्यस वडामा रहेका विपन्न वर्गका पाँच जना एकल महिलालाई बाख्रा वितरण गरिएको कार्यक्रमको सहजिकरण गरेकी अनिता भट्टराई पौडेलले जानकारी दिईन् ।
अन्नपूर्ण आत्मनिर्भर बाल आश्रममा आयोजित कार्यक्रममा त्यस वडाका सिर्जना नेपाली, पुर्णकुमारी नेपाली, राममाया विक, प्रेमकुमारी कार्की र भोजमाया विकलाई बाख्रा हस्तान्तरण गरिएको हो । उनीहरुलाई पोखरा १६ की वडा सदस्य मञ्जु नेपाली, अम्विका भागवत फाउण्डेसनका अध्यक्ष गणेश नेपाल, अम्विका नेपाल, भगवती नेपाल, अन्नपूर्ण आत्मनिर्भर बाल आश्रमकी शारदा बस्नेत र सहजकर्ता अनिता भट्टराई पौडेलले वितरण गरे ।
कार्यक्रममा बोल्दै वडा सदस्य नेपालीले यस्ता कार्यक्रमले विपन्न परिवारको जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका खेल्ने बताउँदै बाख्रापालनमार्फत महिलालाई दीर्घकालीन आम्दानीको आधार तयार हुने विश्वास व्यक्त गरिन् । उनले आगामी दिनमा पनि स्वरोजगारमूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाईन् ।
फाउन्डेसनका अध्यक्ष गणेश नेपाल, अम्विका नेपाल, भगवती नेपाल र अन्नपूर्ण आत्मनिर्भर बाल आश्रमकी शारदा बस्नेतले महिलाहरूलाई आत्मनिर्भर बनाउन र जिविकोपार्जनमार्फत आय बढाउन सहयोग पग्ने विश्वास व्यक्त गरे । सहजकर्ता अनिता भट्टराई पौडेलले आर्थिक रूपमा कमजोर तथा आयआर्जनका अवसर कम भएका महिलाहरूलाई पेवा स्वरूप बाख्रा प्रदान गरिएको बताईन् ।
सहभागिले आयआर्जन बढेपछि लाभग्राही दिदीबहिनीहरूले पुनः अर्को आवश्यकता भएका महिलालाई एक÷एक ओटा बाख्रा हस्तान्तरण गर्न सुझाव दिए । सहयोग प्राप्त गरेका एकल महिलाहरूले यस सहयोगले आफ्नो जीविकोपार्जनमा थप टेवा पुग्ने विश्वास व्यक्त गरेका छन् ।





