पोखरा/दक्षिण कोरियाको ‘कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग’ (कोइका) ले गण्डकी प्रदेश सरकार मातहतको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम प्रतिष्ठानमा विभिन्न विषयको प्राविधिक शिक्षाका लागि यसअघि सम्झौता गरेको ९ मिलियन अमेरीकी डलर सहयोग कार्यान्वयन प्रक्रिया अघि बढाएको छ । यो रकम झन्डै एक अर्ब २० करोडभन्दी बढी नेपाली रुपैयाँ हुन आउँछ ।
उक्त सहयोग आदानप्रदानबारे गण्डकी प्रदेश सरकार र कोइकाबीच २०८१ पुस २० गते सम्झौता भएको थियो । सम्झौतालगत्तै सोही दिन स्याङजाको फेदीखोला गाउँपालिका–१ गुर्धुममा मुख्यमन्त्री पाण्डेले प्रतिष्ठानको भवन शिलान्यास गरेका थिए । प्राविधिक शिक्षाका लागि प्रतिष्ठानअन्तर्गत गण्डकी इन्स्टिच्युट टेक्नोलोजीको पूर्वाधार विकास परियोजनाको नाम दिईएको छ ।
बुधबार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र कोइका कन्ट्री डाइरेक्टर मुहन् कोङबीच परियोजना अघि बढाउनका लागि भेटघाट र कुराकानी भएको छ । परियोजनाअन्तर्गत अटो मोबाइल, हस्पिटालिटी एन्ड टुरिजम र पोलिटेक्निकल एजुकेशन रहेका छन् ।
छलफलमा सहभागी प्रतिष्ठानका कार्यकारी निर्देशक डा. सोमनाथ सापकोटाका अनुसार परियोजनाका कामहरु कोइकाले आफैले बनाउने र २ वर्ष उसले सञ्चालन गरेपछि प्रदेश सरकारलाई हस्तान्तरण गर्ने योजना छ । परियोजनाबाट प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिम नीति र १५ औँ राष्ट्रिय योजनाअनुरूप सक्षम जनशक्ति उत्पादन गर्ने उद्देश्य राखिएको छ ।
‘परियोजनाले समेटेका क्षेत्रमा दक्ष जनशक्ति उत्पादन र रोजगारको केन्द्र बनाउने योजना हो’, सापकोटाले भने, ‘प्रदेश सरकारले होस्टेल र स्टाफ क्वार्टर बनाउनु पर्ने भएकाले बनाइरहेका छौ ।’ प्रतिष्ठानका लागि फेदीखोला गाउँपालिकामा १६० रोपनी जग्गा प्राप्त भएको छ ।
परियोजनाले युवा, महिला र विपन्न वर्गलाई गुणस्तरीय प्राविधिक शिक्षामा पहुँच पु¥याउने र बढ्दो रोजगारी बजारमा आवश्यक पर्ने सीपको अवसर सिर्जना गर्ने दाबी प्रदेश र कोइकाको छ ।
भेटघाटका क्रममा गण्डकी प्रदेशको समग्र विकासका लागि समेत थप सहकार्य गर्ने विषयमा महत्वपूर्ण छलफल भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । यस सहकार्यले प्रदेशको दिगो विकास, रोजगारी सिर्जना र जनजीवनमा सकारात्मक परिवर्तन ल्याउने विश्वास मुख्यमन्त्री पाण्डेको छ ।





