आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

निर्माण सामग्रीको मुल्यवृद्धि गर्न माग

निर्माण सामग्रीको मुल्यवृद्धि गर्न माग

नेपाल निर्माण व्यवसायी संघ गण्डकीले यससँगै बिटुमिन, सिमेन्ट, डण्डी जस्ता निर्माण सामग्रीहरूको मूल्य पनि आकासिएको छ भने बजारमा अभाव देखिएको बताएको छ ।


  • ढोरपाटन संवाददाता
  • बैशाख १३ २०८३, आइतबार

पोखरा/इन्धन तथा निर्माण सामग्रीको अत्यधिक र अप्रत्याशित मूल्यवृद्धिका कारण देशभरको निर्माण क्षेत्र गम्भीर संकटमा परेको भन्दै निर्माण व्यवसायीहरूले सरकारसँग तत्काल हस्तक्षेपको माग गरेका छन् ।

मध्यपूर्वमा जारी द्वन्द्वको प्रभावस्वरूप डिजेल, पेट्रोल, मट्टितेल लगायतका इन्धनजन्य सामग्रीमा लगातार मूल्यवृद्धि भइरहेको छ ।

आइतबार पत्रकार सम्मेलन गर्दै नेपाल निर्माण व्यवसायी संघ गण्डकीले यससँगै बिटुमिन, सिमेन्ट, डण्डी जस्ता निर्माण सामग्रीहरूको मूल्य पनि आकासिएको छ भने बजारमा अभाव देखिएको बताएको छ ।

संघका अध्यक्ष टंक बरालले अहिले परिस्थितिले निर्माण उद्योग लगभग ठप्प हुने अवस्थामा पुगेको बताएका छन् ।

भौतिक पूर्वाधार क्षेत्रमा देखिएको यस अवस्थालाई ‘सुनामी’ को संज्ञा दिदैँ यसले समग्र अर्थतन्त्रमा समेत नकारात्मक असर पार्न थालेको बताए ।

निर्माण व्यवसायीहरूले यसअघि नै सरकार र सम्बन्धित निकायहरूलाई बारम्बार ध्यानाकर्षण गराए पनि समस्या समाधानका लागि ठोस कदम नचालेको आरोप लगाए । सरकारबाट करिब दुई महिनादेखि मौखिक आश्वासन मात्र प्राप्त भएको र व्यावहारिक समाधान नआएको उनीहरूको गुनासो छ ।

यसका कारण निर्माण व्यवसायीहरू मात्र नभई यस क्षेत्रमा कार्यरत लाखौं श्रमिक तथा सम्बन्धित उद्योगहरू समेत आर्थिक रूपमा प्रभावित भएका छन् ।

मूल्य समायोजनको व्यवस्था राष्ट्र बैंकको सूचकाङ्कसँग जोडिएको भए पनि उक्त सूचकाङ्कले वास्तविक बजार मूल्य नसमेट्दा व्यवसायीहरू थप मारमा परेको बताएका छन् ।

हाल निर्माणको मुख्य सिजनमै सामग्रीको मूल्यवृद्धि र अभावले धेरै आयोजनाहरू प्रभावित भएका छन् । राष्ट्रिय गौरवका आयोजनासहित साना–ठूला सबै परियोजनाहरूको काम लगभग ठप्प भएको अवस्था रहेको जनाइएको छ ।

निर्माण व्यवसायीहरूले प्रत्येक आयोजनामा मूल्यवृद्धि अनुसार ‘मूल्य समायोजन मार्गदर्शिका–२’ तत्काल जारी गर्न तथा सबै ठेक्कामा मूल्य समायोजन लागू गर्न माग गरेका छन् । साथै, बैंक ग्यारेन्टी, बीमा तथा थप क्षतिपूर्ति व्यवस्थासहित सबै आयोजनाको म्याद थप गर्न सरकारसँग आग्रह गरेका छन् ।

निर्धारित समयमा आयोजना सम्पन्न हुने सम्भावना न्यून हुँदै गइरहेको भन्दै सम्बन्धित सबै निकायलाई आवश्यक पहल गर्न निर्माण व्यवसायीहरूले अपिल गरेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->