पोखरा/स्थानीय तहका जनप्रतिनिधिसंग बिमा तथा पन्जिकरण सम्बन्धि अभिमुखिकरण कार्यक्रम सोमबार पोखरामा सम्पन्न भएको छ । कार्यक्रमको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले उद्घाटन गरेका थिए ।
पौडेलले बिमा सचेतनामूलक उद्देश्यले सो कार्यक्रम आयोजना गरिएको उल्लेख गर्दै आम कृषक समेतमा बिमा सम्बन्धि सचेतना बढाउन सबै बिमा सेवा प्रदायक संस्थाहरू कटिबद्धताका साथ लाग्नुपर्ने बताए ।
बिमा दाबी भुक्तानीमा जटिलता देखिएको आम सर्बसाधारणहरूको गुनासो रहेको उल्लेख गर्दै पौडेलले सो प्रक्रिया सरलीकृत बनाउनेतर्फ ध्यान दिन सरकारी निकाय र बिमाको नियामक निकाय बिमा प्राधिकरणले विशेष ध्यान दिनुपर्ने र सेवा प्रवाह थप प्रभावकारी र व्यवस्थित बनाउनुपर्ने उल्लेख गरे ।
कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै नेपाल बिमा प्राधिकरण गण्डकी प्रादेशिक कार्यालयका प्रमुख शम्भु प्रसाद मिश्रले नेपालमा कृषि बिमाको व्यवस्था, सो सम्बन्धि विद्यमान ऐन कानुनहरू, अनुदान सम्बन्धि व्यवस्था, बिमा शुल्क, दाबी तथा भुक्तानी सम्बन्धि व्यवस्थाका बारेमा प्रकाश पारेका थिए ।
त्यसैगरी कास्कीका सहायक प्रमुख जिल्ला चित्राङ्गत बरालले नागरिकता, राहादानी लगायत पन्जिकरणका समस्या र समाधान विषयमा सहजीकरण गरेका थिए । रूपा गाउँपालिका वडा नं. २ का वडाध्यक्ष राजन सुवेदी, माछापुच्छ्रे गाउँपालिकाका प्रमुख कार्यकारी अधिकृत केशब सुवेदी लगायतले प्रस्तुत कार्यपत्रमाथि टिप्पणी गरेका थिए ।
कार्यक्रममा कास्कीस्थित विभिन्न पालिकाका जनप्रतिनिधि, बिमा सेवा प्रदायक कम्पनीका प्रमुख तथा प्रतिनिधि र सरोकारवालाको उपस्थिती रहेको थियो । नेपाल बिमा प्राधिकरण गण्डकी प्रादेशिक कार्यालयका प्रमुख शम्भु प्रसाद मिश्रको अध्यक्षतामा आयोजित कार्यक्रमको संयोजन जिल्ला समन्वय समितिले गरेको थियो ।
कार्यक्रमको संचालन जिल्ला समन्वय अधिकारी नवराज बराल र स्वागत नेपाल बिमा प्राधिकरण गण्डकी प्रादेशिक कार्यालयका सहायक निर्देशक कबिता पाण्डेले गरेकी थिइन् ।





