शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

बेगनास तालमा वार्षिक चार लाख माछाका भुरा

बेगनास तालमा वार्षिक चार लाख माछाका भुरा

जलारी समुदायको आयआर्जनमा टेवा


  • ढोरपाटन संवाददाता
  • बैशाख १५ २०८३, मंगलबार

पोखरा/ बेगनास तालमा जलारी समुदायको जीविकोपार्जन सुदृढ गर्ने उद्देश्यले माछाका भुरा छाड्ने कार्यलाई निरन्तरता दिइएको छ । यसैक्रममा विभिन्न प्रजातिका करिब तीन हजार माछाका भुरा तालमा छोडिएको छ भने वार्षिक रूपमा यहाँ करिब चार लाख भुरा छाड्ने गरिन्छ ।

बेगनासताल मत्स्य व्यवसायी समितिको आयोजना तथा पोखरा महानगरपालिका वडा नं ३१ को आर्थिक सहयोगमा सम्पन्न कार्यक्रममा १०० देखि ३०० ग्राम तौलका करिब ४२५ केजी माछा तालमा छाडिएको हो । माछाको संख्या र तौल दुवैलाई ध्यानमा राख्दै तालको उत्पादन क्षमता बढाउने र स्थानीय माछा व्यवसायलाई थप मजबुत बनाउने लक्ष्य लिइएको समितिले जनाएको छ ।

कार्यक्रममा बोल्दै वडा अध्यक्ष ढकनाथ कंडेलले बेगनास ताललाई आन्तरिक तथा बाह्य पर्यटनको महत्वपूर्ण गन्तव्यका रूपमा विकास गर्न महानगरले नयाँ योजना ल्याउने तयारी गरिरहेको जानकारी दिए । उनले ताल वरपर बसोबास गर्दै आएका जलारी समुदायको जीवनस्तर उकास्न माछापालनलाई नीतिगत रूपमा अघि बढाउनुपर्नेमा जोड दिए ।

उनका अनुसार बेगनास ताललाई सहकारी अवधारणामा आधारित बनाउँदै स्थानीय बासिन्दासँग समन्वय गरेर सञ्चालन गर्न सकिएमा माछा उत्पादन, व्यवस्थापन र बजारिकरणमा समेत सुधार आउनेछ । साथै, माछा मार्ने पेशालाई व्यवस्थित र दिगो बनाउन व्यवसायीहरूलाई स्थानीय तहमा दर्ता भई करको दायरामा आउन उनले आग्रह गरे ।

कार्यक्रमका क्रममा मत्स्य व्यवसायी समिति बेगनासका अध्यक्ष ज्ञानु जलारीले ताल वरपर बसोबास गर्ने करिब ६० घरधुरीका दुई सयभन्दा बढी व्यक्तिको मुख्य जीविकोपार्जन माछा मार्ने पेशामा आधारित रहेको बताए । उनले पछिल्लो समय विकास निर्माणका नाममा भइरहेका गतिविधिहरूले परम्परागत पेशामा असर पर्ने चिन्ता व्यक्त गरे । ‘हाम्रो पुस्तौँदेखिको पेशा माछा मार्ने हो, तर अहिले विभिन्न विकासका योजनाले हाम्रो पेशा नै संकटमा पर्ने हो कि भन्ने डर बढेको छ,’ उनले भने ।

त्यस्तै, कार्यक्रममा पूर्व अध्यक्ष झलक जलारी र निवर्तमान अध्यक्ष राजेन्द्र जलारीले माछा बिक्रीबाट संकलित कोषको रकम प्रयोग गरी प्रत्येक वर्ष करिब २० देखि २२ लाख रुपैयाँ बराबरका माछाका भुरा छाडिँदै आएको जानकारी दिए । उनीहरूका अनुसार यस वर्ष वडा नं ३१ को दुई लाख रुपैयाँ आर्थिक सहयोगले कार्यक्रमलाई थप प्रभावकारी बनाउन सहयोग पुगेको छ ।

उनीहरूले आगामी दिनमा पनि स्थानीय सरकार तथा सरोकारवाला निकायबाट निरन्तर सहयोग प्राप्त हुने अपेक्षा व्यक्त गर्दै माछा उत्पादन वृद्धि, तालको संरक्षण तथा जलारी समुदायको पेशागत सुरक्षामा सबैको ध्यान जानुपर्ने बताए ।

बेगनास तालमा माछाका भुरा छाड्ने कार्यले एकातर्फ तालको जैविक विविधता संरक्षणमा सहयोग पु¥याएको छ भने अर्कोतर्फ स्थानीय समुदायको आयआर्जन बढाउन महत्वपूर्ण भूमिका खेल्दै आएको छ । सरोकारवालाहरूका अनुसार यस्ता कार्यक्रमलाई दिगो रूपमा सञ्चालन गर्न सकेमा बेगनास ताल क्षेत्रलाई मत्स्य उत्पादन तथा पर्यटनको केन्द्रका रूपमा विकास गर्न सकिने सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->