आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

स्याउको बोटमा रुपैयाँ फलाउने उद्देश्यमा अविचलित छ शीतोष्ण बागवानी केन्द्र

स्याउको बोटमा रुपैयाँ फलाउने उद्देश्यमा अविचलित छ शीतोष्ण बागवानी केन्द्र

वार्षिक झण्डै १ करोड आम्दानी गर्ने यस केन्द्रलाई थप व्यवस्थित गर्न सकेको खण्डमा आम्दानीको परिणाम बढ्न सक्छ । अहिले भएको जनशक्तिलाई अझै बढाउँदै उचित बजेटको व्यवस्था गर्न सकेको खण्डमा राज्यको आम्दानीको एउटा उचित श्रोत बन्न सक्छ शीतोष्ण बागवानी विकास केन्द्र मार्फा ।


  • अमृत बास्कुने
  • बैशाख १६ २०८३, बुधबार
?????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????

म्याग्दी/हिमालपारीको जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिका–२ मार्फामा रहेको सरकारी स्वामित्वको शीतोष्ण बागवानी विकास केन्द्र मार्फा फलफुल तथा तरकारीको विकासमा ६० वर्षदेखि सक्रिय रहँदै आएको छ । २०२३ सालमा स्थापना भएको केन्द्र २०२३ सालमा जिल्लामा बागवानी विकास कार्यालय स्थापना भएको र त्यसै बेलादेखि स्याउ, आरु, खुर्पानी, कागजी बदामलगायतका फलफूल, तरकारी खेती, अनुसन्धान र परीक्षण सुरु भएको थियो ।

सुरुमा बागवानीले शीतोष्ण फलफूल तथा तरकारी खेती सिकाउन खोज्दै हाल आएर आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको छ । नेपाल–चीन जोड्ने कोरलानाका खुल्ला भएको र त्यहाँ इमिग्रेसन र भन्सार कार्यालय स्थापना भएकाले चीनको तिब्बती बजारमा मुस्ताङको स्याउ निर्यात समेत गर्न सकिने बाटो पनि खुलेको छ । सहर बजारमा अन्य स्थानको स्याउलाई समेत मुस्ताङको स्याउ भनेर बिक्री गर्ने गरेको पाइन्छ । भदौदेखि कार्तिकसम्म विभिन्न प्रकारका स्याउका भेराईटीहरु बजार पठाउन सक्ने बागवानीलाई आगामी दिनमा आफ्नो पहिचान जोगाउने चुनौती छ ।

अहिले स्याउका बोटमा फुल फुलेर पनि झरीसकेको छ भने विउबिजन उत्पादन गर्ने काम जारी पनि छ । जुकीनी लगायतका तरकारी बाली रोपेर प्लाष्टिकको गुम्बुज बनाएर चिसोबाट बचाउन सुरक्षित गरिएको छ । तरकारी तथा फलफुल तथा मार्फाको अन्य उत्पादनको बिक्रीबाट आर्थिक वर्ष २०८१/०८२ मा ९१ लाख ७३ हजार २८ रुपैयाँ शीतोष्ण बागवानी विकास केन्द्रले आम्दानी गरेको थियो । केन्द्रले प्रशोधित वस्तुबाट १९ लााख ८२ हजार तीन सय ६५, ताजा फलफूलबाट २७ लाख २१ हजार आठ सय १२ रुपैयाँ, ताजा तरकारीबाट ६ लाख ७२ हजार छ सय ४५ रुपैयाँ आम्दानी गरेको थियो ।

त्यस्तै आलुको बिउबाट ३ लाख ३५ हजार चार सय ६०, तरकारीको बिउबाट ६ लाख ५८ हजार ६ सय ३०, तरकारीको बेर्नाबाट ४ लाख ५२ हजार ३ सय ६३, फलफूल बिरुवाबाट ९ लाख ५ हजार एक सय ५५, बिबिध आम्दानी ६ लाख ७० हजार एक सय ५८, अन्य प्रशासनिक सेवा शुल्कबाट ८२ हजार सात सय ८५ र प्रशासनिक दण्ड जरिवानाबाट ६ लाख ९१ हजार ६ सय ५३ गरी कुल ९१ लाख ७३ हजार २८ रुपैयाँ आम्दानी गरेको हो ।

शीतोष्ण बागवानी विकास केन्द्र मार्फाले बिविध आम्दानीतर्फ क्रेप एप्पल बीउ, चिलीको बियाँ, सुकेको घाँस बिक्री गर्छ । केन्द्रले स्याउ, नास्पाती, अङ्गुर, खुर्पानी, ओखर, कागजी बदाम, आरु, आरुबखडा, स्याउ जस्ता फलफूलहरूको बिरुवाहरू बिक्री वितरण गर्ने गरेको छ । त्यस्तै प्रशोधित वस्तुअन्तर्गत स्याउ ब्राण्डी, खुर्पानी ब्राण्डी, प्लम वाइन, खुर्पानी सुकुटी, खुर्पानी जाम, स्याउ जाम, स्याउ सुकुटी, साइडर लगायतका सामग्रीहरू बेच्ने गर्दछ ।

त्यस्तै शीतोष्ण बागवानी विकास केन्द्र मार्फाले ताजा फलफूलहरुमा स्याउ फल, आरु बखडा, आरु, नास्पाती, खुर्पानी, दाँते ओखर, हेजल नट, चिली र अंगुर आदी बिक्री गरेको केन्द्रका केन्द्र प्रमुख प्रकाश पन्थले बताए ।

केन्द्रमा शीतोष्ण हावापानीमा हुने फलफूलका उच्च गुणस्तरीय विउ तथा बिरुवा उत्पादन गर्दै आएको छ । हालको अवस्थामा बागवानी विकास केन्द्रमा रहेको तन्नु प्रजनन केन्द्रबाट उच्च गुणस्तरीय स्याउका बिरुवाहरु उत्पादन गर्न थालिएको छ । अहिले केन्द्रमा स्याउको एम नाइन, डबल एम त्रिपल वान, जि १६ जस्ता भेराईटी उत्पादन थालिएको र अन्य उत्पादनको तयारीमा रहेको तन्तुप्रजनन केन्द्रमा कार्यरत प्राविधिक सहायक सन्ध्या खत्रीको भनाई छ ।

शीतोष्ण बागवानी विकास केन्द्रले ९.८ हेक्टर क्षेत्रफल जग्गा ओगटेको छ । केन्द्रले स्याउ लगायतका अन्य शीतोष्ण हावापानीमा हुने फलफूलहरु तथा तरकारी र तरकारीका वीउ उत्पादन गर्ने गरेको छ । केन्द्रमा हाल ४० देखि ४२ प्रजातीका स्याउ रहेको छ । केन्द्रमा मुख्य रुपमा रेड डेलिसियस, रोयल डेलिसियस, गोल्डेन डेलिसियस, रिचारेड डेलिसियस र फुजी प्रजातीका स्याउ मुख्य रुपमा छन् । रुट स्टकका लागि कलमी गरेर साइन कलेक्सन गरी ग्राफ्टीङ गरेर जोगाउने प्रयास पनि गर्दै आएको कृषि प्राविधिक डम्बर सार्कीले बताए ।

शीतोष्ण बागवानी विकास केन्द्रले फलफुलसँगै ताजा तरकारीहरु काउली, बन्दा, गोलभेडा, सिमी कोसा, काँक्रो, ब्रोकाउली, प्याज हरियो, फर्सि (जुकुनी), भण्टा, रायोको साग, भेडे खुर्सानी, पिरो खुर्सानी, आलु र लसुन लगायतका तरकारी आइटम पनि बिक्रि गर्ने गरेको थियो । साथै, केन्द्रले यो सिजनमा तरकारी तथा फलफुलका बिरुवा पनि बिक्रीबितरण गर्ने गरेको छ । यही बैशाख १३ गतेदेखि केन्द्रले विभिन्न तरकारी तथा खरबुजाको बिरुवा बिक्री गरिरहेको छ ।

केन्द्रले रायो, मुला, गाजर, सलगम, बन्दा, स्वीसचार्डको प्रजनन विउ तथा मुल विउ पनि उत्पादन गर्ने गरेको छ । नेपाल साथै अन्य केही मुलुकमा समेत पुगेको मार्फाले नै विकास गरेको रायोको साग नेपाली भान्साका लागि निकै महत्वपूर्ण र रुचाइएको तरकारी हो । रायोको मार्फा चौडापात, मुलाको टोकीनासे, सलगमको पर्पलटप लगायतका जात उत्पादन हुने गरेको प्राविधिक सार्कीले बताए ।

शीतोष्ण बागवानी विकास केन्द्रले उत्पादन गरेको फलफुल तथा तरकारीका बिरुवाहरुको माग बजारमा पनि उच्च हुने गरेको छ । केन्द्रले अहिले तरकारी तथा फलफुलका बिरुवाहरु बिक्री थालेको र ती बिरुवाहरु खरिदका लागि स्थानीय कृषकको बाक्लो उपस्थिति रहने गरेको छ । बिरुवाहरु प्रतिगोटा २० रुपैयाँका दरले कृषकहरुले खरिद गरेर लैजाने गरेका छन् । आफै बिउ रोपेर उमार्नभन्दा उम्रेर तयार भएको बिरुवा लगेर रोप्दा सुरक्षीत हुने जोमसोमका कृषक मनबहादुर सार्कीले बताए ।

तरकारी तथा फलफलुको उत्पादन गर्नका लागि गुणस्तरीय विउ तथा बिरुवा अन्यत्रबाट पाउन मुस्कील हुने तथा यदि कतैबाट ल्याए पनि विश्वासीलो नहुने भएकाले पनि शीतोष्ण बागवानी विकास केन्द्र सबैको आकर्षणको केन्द्र नै छ । काँक्रा, जुकीनी, लौका, खरबुजा जस्ता तरकारी र फलफुल अरुले पनि लगेर राम्रो भएको प्रचार गर्दा अन्यले पनि त्यसतर्फ आकर्षित भएको टुकुचेका कृषक बुद्धिबहादुर श्रेष्ठको भनाइ छ । अरुले दिएकै सुझाबका आधारमा पनि तरकारी फलफुलको बिरुवा लिन केन्द्रसम्म पुग्नेहरुको संख्या धेरै छ ।

मुस्ताङमा विगतदेखि नै परम्परागत रुपमा गर्दै आएको खेतीबाट प्रतिहेक्टर ८ मेट्रिक्टन उत्पादन हुँदै आएको छ । यदी यही क्षेत्रफलमा हाइडेन्सीटी स्याउको खेती गर्ने हो भने उत्पादन निकै बढ्ने गर्दछ । हाइडेन्सीटी स्याउको खेती गर्दा ६६ मेट्रिक्टनसम्म उत्पादन हुने भएकाले पनि आधुनिक खेतीतर्फ आकर्षीत हुनु आवश्यक छ । त्यसका लागि हाल इटालीबाट बिरुवा ल्याएर खेती थालिएको भए पनि मार्फामा २०७८ सालमा स्थापना भएको तन्तु प्रजनन केन्द्रबाट पनि हाइडेन्सीटी स्याउको बिरुवा उत्पादन गर्न सकिन्छ । यहाँबाट हाल छ हजार हाराहारी बिरुवा उत्पादन गर्न सकिन्छ । नेपालमै एउटा मात्रै यो तन्तु उत्पादन केन्द्रलाई बजेटको व्यवस्था साथै दक्ष प्राविधिकहरुको संख्या बढाउन सकेको खण्डमा नेपालमै प्रयाप्त मात्रामा बिरुवा उत्पादन गरी स्याउ उत्पादनमा आत्मनीर्भर हुन सक्ने अवस्था रहेको वागवानी विकास केन्द्रका प्रमुख पन्थको भनाई छ ।

फलफुल तथा तरकारीजन्य उत्पादनबाट वार्षिक रुपमा झण्डै १ करोड आम्दानी गर्ने यस केन्द्रलाई थप व्यवस्थित गर्न सकेको खण्डमा आम्दानीको परिणाम बढ्न सक्छ । अहिले भएको जनशक्तिलाई अझै बढाउँदै उचित बजेटको व्यवस्था गर्न सकेको खण्डमा राज्यको आम्दानीको एउटा उचित श्रोत बन्न सक्छ शीतोष्ण बागवानी विकास केन्द्र मार्फा ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->