शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

पर्यटकीय गन्तव्य बन्दै रायरायँकोट

पर्यटकीय गन्तव्य बन्दै रायरायँकोट


  • ढोरपाटन संवाददाता
  • बैशाख १६ २०८३, बुधबार

बागलुङ/बागलुङ नगरपालिका–७ स्थित पर्यटकीय स्थल रायरायँकोटमा पर्यटन प्रवद्र्धनका गतिविधि थालिएको छ । पछिल्लो समय आन्तरिक पर्यटकको रोजाईमा पर्न थालेपछि रायरायँकोटलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न थालिएको हो ।

बागलुङ नगरक्षेत्रका पाँच वटा कोट मिलाएर पञ्चकोट नामाकरण गरिएको छ । मुख्य पूर्वाधार निर्माण भैरहेको ताराजालकोट हो । ताराजालदेखि माथि कारीकोट, माझकोट र रायरायँकोट छन् । सबैभन्दा अग्लो पहाडमा संसारकोट छ । पाँच कोटलाई जोडेर पर्यटकीय सर्किटका रुपमा विकास गर्न स्थानीय तह र विभिन्न संघसंस्थाले पहल थालेका छन् ।

म्याग्दी जेसीजको आयोजना तथा बागलुङ जेसीज र पर्वत जेसीजको सह–आयोजनामा रायरायँकोटमा पर्यटकका लागि जानकारीमुलक बोर्ड व्यवस्थापन गरिएको छ । बागलुङ नगरपालिका–७ का वडाध्यक्ष मेघराज शर्मा गैरेले बागलुङ बजारदेखि नजिकैको गन्तव्य रायरायँकोटमा पर्यटन प्रवद्र्वन गर्न वडा कार्यालयले योजना बनाएको बताए ।

गैरागाउँ, तितौरे, बाटुले, तंग्राम, मुल्पानी, तित्याङ र मालिकाबासीले पूजा गर्ने रायरायँकोटमा विश्रामस्थल, सत्तल, मैदान र पर्खाल निर्माण गरिएको छ । कोट मन्दिरलाई व्यवस्थित गर्नेदेखि पर्याप्त खानेपानी र पर्यटकीय संरचना बनाउन स्थानीय तहसंग सहकार्य गर्ने योजना बनेको रायरायँकोट विकास समितिका अध्यक्ष नन्दलाल गौतमले बताए ।

शान्त र मनोरम वातावरणमा आँखै अगाडि धौलागिरि हिमश्रृंखलाको दृश्वालोकन गर्न सकिने रायरायँकोट प्रचार प्रसार र पूर्वाधार निर्माणका कारण चर्चा आएको गौतमको भनाई छ । खानेपानी र मोटरबाटोको सहज पहुँच विस्तारसंगै पर्यटकीय संरचना निर्माण गर्न सके रायरायँकोट पर्यटकको हब बन्ने गौतम संभावना देख्छन् ।

‘‘पञ्चकोटमा आउने पर्यटकलाई रायरायँकोटमा ल्याउन सकिन्छ, त्यसको लागि पर्यटक भुलाउने संरचना चाहिन्छ’’ गौतमले भने । रायरायँकोटमा खानेपानीको अभाव हुँदा पर्यटकलाई ड्रम संकलन गरिएको पानी खुवाउनुपर्ने बाध्यता रहेको छ ।

गण्डकी प्रदेश सरकारको पर्यटन मन्त्रालयबाट रायराँयकोटमा २० लाखको पूर्वाधार निर्माण भइसकेको छ । मन्दिरको छाना छाउने, पुरानो घण्टी संरक्षण, सत्तल निर्माण, पर्खाल निर्माण र मैदान बनाइएको छ । पञ्चकोटदेखि संसारकोट पुग्ने पदमार्ग निर्माणका लागि ५० लाख रुपियाँ बजेट संघीय सरकारको पर्यटन मन्त्रालयबाट विनियोजन भएको छ ।

म्याग्दी जेसीजका अध्यक्ष दिनेशकुमार विश्वकर्माको जन्मगाउँ पनि भएकाले म्याग्दी जेसीजको ‘अध्यक्ष गाउँ प्रवद्र्धन कार्यक्रम’अन्तर्गत रायरायँकोटमा बोर्ड व्यवस्थापन गरिएको म्याग्दी जेसीजका महासचिव गोकुल बिश्वकर्माले जानकारी दिए । ‘‘पर्यटन प्रवद्र्धनमा बोर्ड व्यवस्थापनले महत्वपूर्ण सहयोग पुग्ने विश्वास छ’’ विश्वकर्माले भने ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->