बागलुङ/जिल्लाको ताराखोला गाउँपालिकामा उत्पादि चिया नेपालमै उत्कृष्ट भएको छ । चिया दिवसको अवसरमा इलाममा आयोजित ‘चियाको स्वाद परीक्षण’ प्रतियोगितामा ताराखोला–१ सिरुबारीमा उत्पादित चिया नेपालमै उत्कृष्ट भएको हो ।
गोल्डेन टि इस्टेट प्रा.लि.ले सिरुबारमा उत्पादन गर्दै आएको दुई किसिमका चिया उत्कृष्ट बनेको प्रा.लि.का सञ्चालक गोपाल श्रीसले जानकारी दिए । चार श्रेणीमा भएको चियाको स्वाद परीक्षण गर्दा सिरुबारीमा उत्पादित चिया उत्कृष्ट भएको हो ।
२०७५ सालमा नुवाकोटबाट ४० हजार बिरुवा लिएर सिरुबारीमा सुरु गरिएको चिया खेती अहिले १ सय रोपनी क्षेत्रमा करिब २ लाख बिरुवा विस्तार गरिएको छ । २०७८ सालबाट उत्पादन गर्न थाले पनि बजारीकरण भने हुन नसकेको सञ्चालक श्रीसले गुनासो गरे ।
‘सिरुबारीको चिया नेपालमै उत्कृष्ट होला भन्ने हामीले कल्पना पनि गरेका थिएनौँ, तर परीक्षणबाट सबैभन्दा राम्रो प्रमाणित हुँदा हामीहरुलाई थप उत्पादन गर्न हौसला मिलेको छ’ श्रीसले भने, ‘चिसो हावापानीमा उत्पादन कम हुने तर गुणस्तर धेरै राम्रो हुनेरहेछ ।’
समुद्री सतहबाट २ हजार २ सयदेखि २ हजार ४ सय मिटरको उचाइमा उत्पादित चिया गुणस्तरीय हुने चिया तथा कफी विकास बोर्ड पोखराका नगेन्द्र सुवेदीले बताए । ताराखोलामा उत्पादित चिया अन्य स्थानको भन्दा गुणस्तरीय रहेछ’ सुवेदीले भने ।
बागलुङमा उत्पादित र प्रशोधित ग्रिनटीले चार राष्ट्रिय स्पर्धामा गोल्ड मेडलसहित उत्कृष्ट नतिजा हासिल गर्दा सुखद अनुभुती भएको अर्का सञ्चालक श्रीप्रसाद शर्माले बताए । ‘यो नजिताले गण्डकी प्रदेश र अझै बागलुङ जिल्लाले नै थप आफ्नो गर्विलो पहिचान कायम गरेको छ । अब थप मेहनती र पौरखी बन्न प्रेरणा मिल्ने विश्वास छ’ शर्माले भने ।
राष्ट्रिय चिया तथा कफी विकास बोर्डले आयोजना गरेको प्रतियोगितामा देशका ४५ कम्पनीका चियाले प्रतिस्पर्धामा भाग लिएका थिए ।





