बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

सरकारी जागिर छाडेर बाख्रापालनमा रमाउँदै भुवानी

सरकारी जागिर छाडेर बाख्रापालनमा रमाउँदै भुवानी

उनले भने- 'सङ्घीयतापछि जागिर छाडेर बाख्रा पाल्ने सोच पलायो । नौ वटाबाट सुरु गरेको फार्ममा अहिले ६० भन्दा बढी बाख्रा छन् ।’


  • ढोरपाटन संवाददाता
  • बैशाख २२ २०८३, मंगलबार
म्याग्दी / म्याग्दीको धौलागिरि गाउँपालिका–७ बगरका भुवानी पौडेलले सरकारी जागिर छाडेर बाख्रापालन गरी स्वरोजगार र आत्मनिर्भर बनेका छन् ।
दश वर्षसम्म बेनीमा रहेको कृषि विकास कार्यालयमा सहयोगी कर्मचारीको रुपमा करारमा काम गरेका पौडेलले स्थापना गरेको बगर कृषि तथा पशु बहुुउद्देश्यीय फार्मबाट सफलता हात पारेका हुन् ।
‘पाँच वर्षजति खाडीमुुलुुकमा वैदेशिक रोजगारी गरेर फर्केपछि विसं २०६६ देखि ११ वर्षसम्म बेनीको कृषि विकास कार्यालयमा सहयोगीको रुपमा काम गरेको थिए’, उनले भने, ‘सङ्घीयतापछि जागिर छाडेर बाख्रा पाल्ने सोच पलायो । नौ वटाबाट सुरु गरेको फार्ममा अहिले ६० भन्दा बढी बाख्रा छन् ।’
वार्षिक ३५ देखि ४० वटासम्म खसीबोका बिक्री गरेर रु पाँच लाखसम्म आम्दानी गर्ने पौडेलले तीन जना छोराछोरीलाई सदरमुकाम बेनीमा राखेर पढाउनुका साथै घरव्यवहार चलाउन सजिलो भएको बताए । खसीबोका बाहेक पाठापाठी पनि बिक्री हुने गरेको छ ।
ग्राहकहरु पाठापाठी र खसीबोका खोज्दै घरमै आउने गरेकाले बजारको समस्या छैन । पौडेलले बाख्रापालनसँगै ब्यवसायिक रुपमा सुन्तला र तरकारीखेती पनि गरेका छन् । एक सय बोटमध्ये ४० बोट सुन्तलाले उत्पादन दिन थालेका छन् । थप एक सय सुन्तलाका बिरुवा रोपेका छन् ।
वैदेशिक रोजगार र करारको जागिरको तुलनामा खेती किसानी र बाख्रापालनबाट सन्तुष्टि मिलेको पौडेलले अनुभव सुनाए । व्यवस्थित किसिमको खोर बनाएर जमुनापारी जातको बाख्रा पालेका पौडेलले उन्नत बोयर जातको एक वटा बोका सहयोग पाएका छन् ।
फार्मको पूर्वाधार विस्तारमा पौडेलले सरकारी निकायबाट सहयोगको अपेक्षा गरेका छन्। घरवरपरको पाखामा चरनमा आधारित बाख्रापालन गरेका पौडेलले बहुवर्षीय डालेघाँस खेती पनि गरिरहेका छन् ।
बाख्राको सुरक्षाका लागि ठूला जीउडाल भएका एक वटा भोटे जातको सहित दुई वटा कुकुर पालेका छन् । रातको समयमा खोर वरपर रुघेर बस्ने कुकुर जङ्गलमा बाख्रा चराउन लैजाँदा अघिपछि गरेर सुरक्षा दिने गर्छन।
जङ्गली जनावरको सङ्केत पाएमा भुकेर जानकारी दिने कुकुरले भिडेर बाख्रालाई आक्रमणबाट बचाउन सहयोग गरेको कृषक पौडेलले बताए । उनलाई बाख्रापालनमा श्रीमती भगवतीले पनि सघाउँदै आएकी छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->