आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

कांग्रेस गण्डकीको प्रमुख सचेतकमा प्रकाश

कांग्रेस गण्डकीको प्रमुख सचेतकमा प्रकाश

गगन निकट नन्दप्रसाद मन्त्री बनेपछि गण्डकी सभापति शुक्रराजको आशिर्वादप्राप्त प्रकाशको बढुवा भएको हो


  • ढोरपाटन संवाददाता
  • बैशाख २३ २०८३, बुधबार

पोखरा/नेपाली कांग्रेस संसदीय दल गण्डकी प्रदेशको प्रमुख सचेतकको जिम्मेवारी प्रमुख सचेतक प्रकाश बरालले पाएका छन् । गण्डकीका मुख्यमन्त्री तथा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले बराललाई प्रमुख सचेतकको जिम्मेवारी सुम्पेका हुन् । कास्की क्षेत्र नम्बर ३ को ‘क’ बाट निर्वाचित सभासद बराल यसअघि सचेतकको भूमिकामा थिए ।

यसअघिका प्रमुख सचेतक नन्दप्रसाद न्यौपाने ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री बनेपछि प्रम्ुख सचेतक पद रिक्त थियो । मुख्यमन्त्री पाण्डेले यही वैशाख २ गते एकाएक मन्त्रिपरिषद् पुनर्गठन गरेका थिए । सो उपक्रममा पुराना मन्त्रीलाई बिदा गरेपछि न्यौपानेले महत्वपूर्ण जिम्मेवारी पाएका थिए । न्यौपानेसँगै मुख्यमन्त्रीले बागलुङ कांग्रेसका सभापतिसमेत रहेका जीतप्रसाद शेरचनलाई आर्थिक मामिला,पर्वतकी रेखा गुरुङलाई सामाजिक विकास र मुस्ताङका नम्डु गुरुङलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिएका थिए । यी ३ जनाले नै मुख्यमन्त्री पाण्डेलाई संसदीय दलको नेता बन्ने क्रममा सघाएका थिए । कांग्रेसको विशेष महाधिवेशनपछि चाहिँ परिस्थिति फेरिएको थियो । न्यौपाने अहिलेका कांग्रेस सभापति गगन निकट रहँदै आएका छन् । गोर्खा कांग्रेसका सभापतिसमेत रहेका उनको फरक खेमामा रहेका मुख्यमन्त्री पाण्डेसँग पनि हिमचिम नै थियो । त्यही हिमचिमका कारण उनले संसदीय दलको चुनाव हुँदा पनि पाण्डेलाई सघाएका थिए । मुख्यमन्त्री पाण्डेले पार्टीभित्रको फेरिएको राजनीतिक सन्तुलन मिलाउनका निम्ति गोर्खाका न्यौपानेलाई मन्त्री बनाए । रेखा र नम्डु पनि पछिल्लो विशेष महाधिवेशन पक्षधर नै थिए । मुख्यमन्त्री पाण्डे भने विशेष महाधिवेशनभन्दा अगाडि केन्द्रीय सदस्यमात्र थिएनन्, संस्थापनका खम्बा नै मानिन्थे । तर, विशेष महाधिवेशनलाई निर्वाचन आयोगले मान्यता दिएपछि सभापति गगन थापा पोखरा आउँदा उनी एयरपोर्टमा फूलमाला लिएर पुगेका थिए । सभापति थापासँग मुख्यमन्त्रीलाई जोड्ने काम न्यौपानेको थियो । कांग्रेसको नयाँ नेतृत्वसँग छलफलबिनै मन्त्रिपरिषद् पुनर्गठन गरेका मुख्यमन्त्रीले गण्डकीको हकमा चाहिँ गण्डकी सभापति शुक्रराज शर्मा र पूर्वकेन्द्रीय सदस्य रोमी गौचनलाई पनि दाहिना बनाए । रोमीको सिफारिसमा नम्डु मन्त्री बने । अहिले प्रमुख सचेतक बनेका प्रकाश चाहिँ गण्डकी सभापति शुक्रराजका खास मान्छे हुन् । नेपाली कांग्रेस गण्डकीको प्रदेश कार्यालय प्रमुखको भूमिकासमेत निभाएका उनी मन्त्री बन्न चाहन्थे । यसअघि उनलाई मन्त्री बनाउने कोसिस पनि भएको थियो तर त्यो बेलाको भिन्न परिस्थितिमा उनी मन्त्री बन्न पाएनन् । शुक्रराजको आशिर्वाद पाएका उनी सचेतक चाहिँ बने । मंगलबार बराल प्रमुख सचेतकमा उक्लिएपछि सचेतक पद रिक्त बनेको छ । सो पदमा कांग्रेसका धेरै सभासदले आँखा गाडेका छन् । प्राविधिक रुपम हेर्दा प्रमुख सचेतकको सिफारिसमा दलका नेताले सचेतक नियुक्त गर्ने प्रावधान छ । तर, त्यसमा मुख्यमन्त्री पाण्डेकै रुचीले काम गर्ने निश्चित भएको स्रोतले बतायो । संसदीय दलमा आफूविरुद्धको आवाज कमजोर बनाउनका निम्ति मुख्यमन्त्री पाण्डेले कुनै असन्तुष्टलाई त्यो पद दिनसक्ने स्रोतको भनाइ छ ।

उता, एमालेमा पनि प्रमुख सचेतक पद खाली छ । एमालेका प्रमुख सचेतक गोविन्दबहादुर नेपाली भौतिक पूर्वाधार मन्त्रीमा नियुक्त भएसँगै खाली भएको सो पदमा एमालेको तर्फबाट को आउँछ भन्ने टुंगो छैन । यद्यपि, संसदीय दलका नेता खगराज अधिकारीको चाहना अनुसार नै त्यो पद पूर्ति हुने एमाले स्रोतको भनाइ छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->