शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

समुदाय परिचालन गरेर ढोरपाटनमा सरसफाइ

समुदाय परिचालन गरेर ढोरपाटनमा सरसफाइ

ढोरपाटनको सुन्दरता र वातावरणलाई जोगाउन परियोजनाले समुदायलाई परिचालन गरेर सरसफाई अभियान समेत चलाउन थालेको छ ।


  • ढोरपाटन संवाददाता
  • बैशाख २३ २०८३, बुधबार

बागलुङ/प्राकृतिक सम्पदाको अनुपम र रमणीयस्थलको रूपमा रहेको ढोरपाटनमा पर्यटकीय आगमन बढेसँगै प्रदूषणको चुनौती पनि थपिंदै गएको छ । कुनै समय विदेशी पर्यटकले मात्रै शिकार खेल्न पुग्ने ढोरपाटन शिकार आरक्षमा सडक सुविधा र प्रचार प्रसारले आन्तरिक पर्यटकको भीड लाग्न थालेको छ ।

वर्षेनी हजारौंको संख्यामा स्वदेशी र विदेशी पर्यटक ढोरपाटनमा पुग्छन् । ढोरपाटन भ्रमण गर्ने पर्यटकको संख्या बढेपनि दिन प्रतिदिन फोहोरको मात्रा बढ्दै गएकोप्रति चिन्ता व्यक्त हुन थालेको छ । डम्पिङ साइटको व्यवस्था नहुनु र पर्यटकले फोहोर व्यवस्थापनमा ध्यान नदिँदा ढोरपाटन उपत्यकाको बीच भाग हुँदै बग्ने पवित्र नदी उत्तरगंगा, ढोरखोला किनार र बाटो छेउछाउमा फोहोर थुप्रिन थालेको छ ।

पर्यटकले प्रयोग गरेर जथाभावी मिल्काउने फेहोरको उचित व्यवस्थापन नहुँदा ढोरपाटनमा प्रदुषण बढ्दै गएको बीवाईसीद्वारा सञ्चालित दिगो पर्यटन प्रवद्र्वन परियोजनाका सामाजिक परिचालक रमिता पुन मगर बताउँछिन् । ‘प्लाष्टिक र सिसाजन्य फोहोरले ढोरपाटन कुरुप बन्न थालेको छ,’ पुनले भनिन्, ‘फोहोर उत्सर्जन गर्ने स्थान अभावले पर्यटकले जथाभावी फाल्दै आएका छन् ।’

ढोरपाटनको महत्वबारे सार्वजनिक जनचेतनाको विकास, वातावरणीय संरक्षण र फाहोर व्यवस्थापनमा परियोजनाको अगुवाइमा पहल भएपनि त्यो पर्याप्त नभएको पुनको भनाइ छ । ‘ढोरपाटनको पर्यावरणलाई जोगाउन सरकारीस्तरबाटै विशेष योजना बनाउन आवश्यक देखिन्छ,’ पुनले भनिन् ।

ढोरपाटनको सुन्दरता र वातावरणलाई जोगाउन परियोजनाले समुदायलाई परिचालन गरेर सरसफाई अभियान समेत चलाउन थालेको छ ।

अभियानअन्तर्गत ढोरपाटन–९ का स्थानीयको सहभागितामा शनिबार ढोरपाटन उपत्यका हुँदै बग्ने उत्तरगंगा, ढोरखोला नदी किनार, नवी, भुजीगाउँ, छेन्तुङ गुम्बा र पाखाथर क्षेत्रमा सरसफाई गरिएको छ । सरसफाइ कार्यक्रमले ढोरपाटन सफा भएको सन्देश जाने र पर्यटकको आगमन बढ्ने परियोजनाको विश्वास छ ।

फोहोरको दिगो व्यवस्थापनमा स्थानीयबासीलाई जागरुक बनाउने काम भइरहेको ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायत बताउँछन् । अहिले फोहोरको त्यति धेरै समस्या नभएपनि भविष्यमा आउनसक्ने चुनौतीलाई समाधान गर्न स्थानीय सरकार र ढोरपाटन सिकार आरक्ष कार्यालयले नीतिगत व्यवस्था गरेर काम गर्नुपर्ने कायतको भनाई छ । टोल विकास समितिमार्फत ढोरपाटनमा पर्यटन प्रवद्र्वनका गतिविधिहरु भइरहेको कायतले जानकारी दिए ।

फोहोर व्यवस्थापनबारे सचेतना जगाउने उदेश्यले त्यहाँ रहेका २२ टोलका बासिन्दा सम्मिलित ढोरपाटन उपत्यका सरसफाई समिति गठन गरिएको छ । समितिले समय समयमा सरसफाइदेखि फोहोरसम्बन्धी सचेतना कार्यक्रम गर्दै आएको छ । निसी र ढोरपाटन पुग्ने पर्यटकलाई सेवा दिनेगरी १८ घरबास सञ्चालन तथा स्तरोन्नति गरिएको परियोजनाका निर्देशक अमर थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->