शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

जैमिनी नगरपालिका वडा नं. ३ दमेक आफ्नै भवनमा

जैमिनी नगरपालिका वडा नं. ३ दमेक आफ्नै भवनमा

सामुदायिक वन उपभोक्ता समितिको जीर्ण भवनबाट सेवा दिँदै आएको वडा कार्यालयको भवन बनेपछि सेवाप्रवाहमा सहज हुने जैमिनी–३ दमेकका वडा अध्यक्ष कृष्ण बहादुर भुजेलले बताए ।


  • ढाेरपाटन संवाददाता
  • बैशाख २३ २०८३, बुधबार

बागलुङ/दक्षिण बागलुङको जैमिनी नगरपालिका वडा नं. ३ दमेकले आफ्नै भवनबाट सेवा सूचारु गरेको छ । हालै निर्माण सम्पन्न भवनमा सरेर वडा कार्यालयले आफ्नै भवनबाट सेवा सूचारु गरेको हो ।

बुधबार भवनको उद्घाटन गर्दै गण्डकी प्रदेश सरकारका आर्थिक मामिला जित शेरचनले प्रदेश सरकार र स्थानीय तह मिलेर थुप्रै कामहरु भईरहेकाले ग्रामिण बस्तीका जनताले गाउँमै सर्वसुलभ र सहज सेवा पाउने वातावरण बन्दै गएको बताए । ।

‘‘सबै काम एकैपटक संभव पनि छैन, हामीले संरचनागत विकासमा पनि ध्यान दिएका छौं’’ मन्त्री शेरचनले भने, ‘‘जनताले प्रत्यक्ष रुपमा सेवा पाउने स्थानीय तहलाई भौतिक संरचना सम्पन्न बनाउन लागिपरेका छौं ।’’ सुविधा थपिएपनि गाउँ रित्तिने क्रम रोक्न अब विकासको मोडालिटी फेर्न आवश्यक शेरचनको भनाई थियो ।

सामुदायिक वन उपभोक्ता समितिको जीर्ण भवनबाट सेवा दिँदै आएको वडा कार्यालयको भवन बनेपछि सेवाप्रवाहमा सहज हुने जैमिनी–३ दमेकका वडा अध्यक्ष कृष्ण बहादुर भुजेलले बताए । ‘‘वनको भवनमा प्रशासन र जनप्रतिनिधि एउटै कोठामा बस्दा कामै गर्न अहज थियो, अब सहज हुने विश्वास छ’’ भुजेलले भने ।

गण्डकी प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालय र जैमिनी नगरपालिकाको साझेदारीमा वडा कार्यालयको भवन निर्माण गरिएको हो । भवन निर्माणमा आर्थिक मामिला मन्त्रालयको ४० लाख र जैमिनी नगरपालिकाको ६० लाख रुपैयाँ गरी कुल एक करोडको लागतमा भवन निर्माण गरिएको हो ।

भवनमा सेवाग्राही कक्ष तथा आवश्यक प्रशासनिक संरचनसहित तीनकोठे भवन निर्माण गरिएको छ । भवनमा स्तनपान कक्ष र छतमा ट्रष्टको बैठक कक्ष बनाउने समेत योजना बनेको वडाध्यक्ष भुजेलले जानकारी दिए ।

स्थानीयबासी डिल कुमारी पाण्डे, इन्द्रकली पुन, कृष्ण बहादुर छन्त्याल, सिर्जना पुनको परिवारले १० लाख रुपियाँ मुल्यको १० रोपनी जमिन निशुल्क रुपमा उपलब्ध गराएपछि माथिल्लो दमेकको भातडाँडामा वडा कार्यालयको भवन निर्माण गरिएको हो । उद्घाटन कार्यक्रममा जग्गादाता र निर्माण व्यवसायीलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले नयाँ भवनबाट नागरिकलाई सहज र सुबिधायुक्त तरिकाले सेवा प्रवाह हुने बताए । वडाध्यक्ष भुजेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा निर्माण व्यवसायी दिपक पौडेल, पूर्व जनप्रतिनिधि भैरव बहादुर छन्त्याल लगायतले बोलेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->