म्याग्दी/जिल्लाको विभिन्न क्षेत्रमा चालेको ब्राभो सेरा अप्रेसनअन्तर्गत प्रहरीले ६ थान भरुवा बन्दुक बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी सागर तिमिल्सिनाका अनुसार, इलाका प्रहरी कार्यालय दरवाङ र ताकम प्रहरी चौकीको संयुक्त टोलीले बुधबार बन्दुक बरामद गरेको हो । धवलागिरी गाउँपालिका वडा नं. ४ मुदीको बगर क्षेत्रको जंगलमा लुकाइ राखेको अवस्थामा बन्दुक बरामद गरिएको हो ।
प्रहरीले गएको २०८२ मंसिर १५ देखि शुरु गरेको ब्राभोसेरा अप्रेसनअन्तर्गत हालसम्म विभिन्न क्षेत्रबाट इजाजत नभएका १ सय ४२ थान भरुवा बन्दुकहरु नियन्त्रणमा लिएको छ ।
अबैध हतियारहरु चोरी शिकारीमा प्रयोग हुनुका साथै अप्रिय घटनामा पनि प्रयोग हुन सक्ने भएकाले अप्रेसन जारी राखिएको प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाले बताए ।
ढोरपाटन शिकार आरक्ष, अन्नपुर्ण क्षेत्र संरक्षण आयोजना (एक्याप) तथा विभिन्न सामुदायिक वनमा वन्यजन्तुको चोरी शिकारीको जोखिम घटाउन पनि यो अभियान फलदायी हुने उनको भनाई छ ।





