पोखरा/कास्कीको रुपा गाउँपालिकामा १८ दिन कार्य अवधिको ‘समुदाय विपद् स्वयंसेवक’ तालिम सम्पन्न भएको छ ।
सशस्त्र प्रहरी बल, नेपाल नं. २४ गण हेडक्वार्टर कालिका कास्कीको आयोजना तथा रुपा गाउँपालिकाको सहकार्य र समन्वयमा गत चैत २५ गतेदेखि तालिम सुरु भएको थियो ।
समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम गाउँपालिकाका अध्यक्ष नवराज ओझाको आतिथ्यतामा भएको थियो । १८ दिन कार्य अवधिको तालिममा सहभागी ३५ जना प्रशिक्षार्थीलाई विपद्को परिचय र विशेषता, नेपालमा विपद् व्यवस्थापन प्रणाली, मेडिकल फस्ट रेस्पोन्डर, बाढी पहिरो तथा डुबान, अग्नि नियन्त्रण तथा वन डढेलो, रोप रेस्क्युबाट गरिने उद्धार सम्बन्धि ज्ञान दिइएको थियो ।
यसैगरी भूकम्पीय जोखिम न्यूनीकरण, सडक दुर्घटना र जोखिम न्यूनीकरण, उपकरण र सामानको परिचय, सुरक्षा सावधानीद्वारा सामग्री प्रयोग सम्बन्धी जानकारी, विभिन्न किसिमका गाँठाहरूको परिचय, विभिन्न किसिमको बेस बनाउने तरिका, वाटर रेस्कु टेक्निक जस्ता विविध विषयहरुमा सैद्धान्तिक तथा व्यावहारिक तालिम दिइएको थियो ।
कार्यक्रममा अध्यक्ष ओझाले तालिमप्राप्त स्वयंसेवकहरूले गाउँपालिकामा आइपर्ने प्राकृतिक एवं अन्य विपद्का समयमा अग्रपङ्क्तिमा खटिएर ठुलो योगदान पु¥याउने विश्वास व्यक्त गरे । सशस्त्र प्रहरी बलका तर्फबाट गणपति सशस्त्र प्रहरी उपरीक्षक बसन्त बहादुर सिंहले विपद्को अवस्थामा सबैभन्दा पहिला घटनास्थलमा पुग्ने समुदाय नै हुने भएकाले, आवश्यक ज्ञान र सीपको अभावमा क्षति बढ्न सक्छ भने उचित तालिम र तयारीले धेरै हदसम्म जनधनको क्षति न्यूनीकरण गर्न सक्षम हुने तथा सानो सीप र सीमित साधनले पनि ठूलो उपलब्धि हासिल गर्न सकिन्छ भन्ने यथार्थ यस तालिमले स्पष्ट पारेको बताए ।





