
म्याग्दी/जिल्लाको मंगला गाउँपालिकाले चालु आर्थिक वर्षका लागि स्वीकृत गरेका योजना कार्यान्वयनको अन्तिम चरणमा पुगेका छन् । १ सय ४९ योजनामध्ये ९५ योजना अर्थात् झण्डै ६४ प्रतिशत कार्यान्वयनको चरणमा छन् ।
गाउँपालिकाले जनताको मागलाई मध्येनजर गर्दै छनोट गरेका योजना सबैजसो कार्यान्वयन चरणमा प्रवेश गरेका हुन् । गाउँपालिकाले कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार, खानेपानी, खेलकुद तथा सामाजिक विकासको क्षेत्रलाई समेट्दै बजेट विनियोजन गरेको छ ।
गाउँपालिकाले छनौट गरेका योजना केवल संरचना निर्माणमा सीमित नभई जीवनस्तर सुधारसँग प्रत्यक्ष जोडिने देखिएको गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाको भनाई छ ।
१ सय ४९ स्थानमा एक सय ५४ योजना रहेकोमा ९५ स्थानका योजना भवन तथा सडकतर्फ केन्द्रित छन् । मंगलाको प्राथमिकता अझै पनि आधारभूत पूर्वाधार विकासमै केन्द्रित रहेको देखिन्छ । स्थानीय तह स्थापनाको दशक पुग्दा पनि पूर्वाधार निर्माणमै वार्षिक बजेटको ठूलो हिस्सा खर्चिने गरिएको छ । म्याग्दीको दुर्गम तथा जोखिमयुक्त भौगोलिक अवस्थालाई हेर्दा आवश्यक पनि मानिने गाउँपालिका उपाध्यक्ष प्रेमकुमारी क्षत्रीको भनाई छ ।
गाउँपालिकाको चालु वर्षका लागि कुल तोकिएकामध्ये ९५ वटा योजना सम्झौता भैसकेका छन् । त्यसमध्ये ४६ वटा योजना निर्माण सम्पन्न भैसकेको मंगला गाउँपालिकाका योजना अधिकृत तथा सूचना अधिकारी सुदर्शन पौडेलको भनाई छ । तीमध्ये पनि ४६ योजनाहरु निर्माण सम्पन्न भएर भुक्तानी भैसकेको छ ।

गाउँपालिकाले समावेशी तबरले सबै क्षेत्रमा लगानी गर्दै आएको छ । चालु आवमा मंगला–२ बरंजाको महेन्द्र रत्न माध्यमिक विद्यालयमा अध्ययन गर्ने टाढाका विद्यार्थीहरु एवम् निम्न आयस्तर भएका विद्यार्थी लक्षित गरी छात्रावास सञ्चालन गर्नका लागि भवन निर्माण हुन लागेको विद्यालयका प्रधानाध्यापक कृष्णलाल सापकोटाले बताए । चालु वर्षमा भवन निर्माणमा ४८ लाख विनियोजन भएको थियो ।
गाउँपालिकाले यसवर्ष तय गरेका योजनाबाट कक्षा व्यवस्थापन तथा शैक्षिक सुधारका कार्यक्रमले सिकाइ वातावरणमा सुधार ल्याउने अपेक्षा गरिएको गाउँपालिकाका प्रवक्ता एकजित रोकाको अपेक्षा छ ।
गाउँपालिकाले सडक तथा भवन निर्माणमा ठूला योजनाभन्दा पनि मर्मत र स्तरोन्नती तथा पुनःनिर्माणमै ध्यान दिएको छ । पूर्वाधारतर्फ सबैभन्दा ठूलो बजेट मोटरबाटो तथा सडक योजनामा केन्द्रित रहेको छ । सिम–कोत्रवाङ–खुम्लिया–पैयुपाटा–कुहुँ–पूर्णगाउँ–टोड्के मोटरबाटोका लागि यसवर्ष १ करोड ५० लाख ४५ हजार बजेट बिनियोजन गरीएको छ । गत वर्ष देखिनै निर्माणधीन सडकको काम यो वर्ष पनि जारी छ ।
गाउँपालिकाको ठुलो मध्येको एक गाउँपालिकाको ५ नं. वडामा पर्ने पुल्चोक–पिपलबोट–पाँखुधारा–टिकाबाङ मोटरबाटोको पनि ठेक्कामार्फत सम्झौता भएको छ । गाउँपालिकाले चालु वर्षमा यो सडकका लागि ९१ लाख बजेट विनियोजन गरेको छ । यो सडकको काम चालु वर्षभित्रै सक्ने गरी काम अगाडी बढेको योजना अधिकृत पौडेलले बताए ।
गाउँपालिकाले ल्याउने योजना र यसले थालेका जनपक्षिय र विकासका योजनाले स्थानीय जनताको उत्पादन बढाउने र यसले सकारात्मक प्रभाप पार्ने अपेक्षा गर्न सकिने गाउँपालिका अध्यक्ष रोकाले बताए ।
हालसम्म ७८ योजना उपभोक्ता समितिमार्फत, ६ योजना ठेक्का प्रक्रियाबाट, ६ योजना सिलबन्दी दरभाउबाट र ५ योजना कोटेशनमार्फत गरी कुल ९५ योजना कार्यान्वयनमा गइसकेका छन् । बाँकी ५४ योजना कार्यान्वयनमा जाने चरणमा रहेका छन् ।





