पोखरा/ पोखरा महानगरपालिका आर्थिक विकास महाशाखा अन्र्तगत कृषि विकास शाखाको आ.व. २०८२/८३ को स्वीकृत कार्यक्रम अनुसार भावना सामुदायिक कृषि सहकारी संस्था र वडास्तरिय कृषि संजालको साझेदारीमा पोखरा–१८ का कृषकहरूलाई कृषि उत्पादन सामग्री तथा कृषि यान्त्रिकरण सहयोग अन्र्तगत विभिन्न सामग्रीहरु अनुदानमा वितरण गरिएको छ ।
२२ किसानलाई ५ मिनि टिलर, एक कम्बाइन मिल, एक पल्पिङ्ग मेसिन, १० टनेल प्लाष्टिक, दुई स्प्रेयर, तीन रोल मल्चिङ्ग प्लाष्टिक वितरण गरिएको हो । वडाध्यक्ष शिवप्रसाद तिमल्सिना, पोखरा महानगरपालिका आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले संयुक्त रुपमा हस्तान्तरण गरेका थिए ।
वडाध्यक्ष तिमल्सिनाले प्राप्त समाग्रीहरूको अधिकतम उपयोग गर्न आग्रह गरे । कडरियाले महानगरपालिले उपलब्ध सीमित साधनस्रोतका बीच कृषकहरूलाई विभिन्न किसिमका सहयोग गरिरहेको बताउँदै त्यसको उपयोग मार्फत उत्पादन बढाउन आग्रह गरे ।
वडास्तरीय कृषि संजाल १८ का अध्यक्ष बेलबहादुर थापाको अध्यक्षतामा एवम् भावना सामुदायिक कृषि सहकारी संस्थाका सचिव सुनिलकुमार थापाले सञ्चालन गरेको कार्यक्रममा वडास्तरीय कृषि संजाल १८ का सचिव खेमराज तिमिल्सीना, सहकारी संस्थाका निवर्तमान अध्यक्ष बलराम कोइराला, सहकारीका अध्यक्ष मीनबहादुर थापा लगायतले बोलेका थिए ।
यसैगरी केही दिन अघि वडास्तरीय कृषि संजाल र भावना सामुदायिक कृषि सहकारी संस्थाको लागत साझेदारी तथा सहकार्यमा वडा भित्रका कृषकहरूलाई मिनि टिलर ११ वटा, कम्बाइन मिल तीन वटा, टनेल प्लाष्टिक १७ वटा, डिजिटल तराजु १३ वटा, स्प्रे १० वटा, असिना छेक्ने जाली दुई रोल, मल्चिङ्ग प्लाष्टिक छ वटा, गार्डेन पाइप ५३ वटा, क्रेट २१ वटा, फोरुवा १५ वटा, कुटो चार वटा, बाउसो छवटा, सिकेचर आठ वटा गरी १५६ जना कृषकलाई वितरण गरिएको थियो ।





