आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

निलगिरिमा सेनाले गर्यो खोज तथा उद्धार अभ्यास

निलगिरिमा सेनाले गर्यो खोज तथा उद्धार अभ्यास

प्रतिकूल मौसम, हिमपातलगायत प्राकृतिक विपद्मा निलगिरिसहित हिमनदीमा कोही फसेमा तत्काल उद्धारका लागि अभ्यास आयोजना गरिएको इन्द्रबक्स गणका प्रमुख सेनानी गौरवध्वज खाँडले बताए ।


  • ढोरपाटन संवाददाता
  • बैशाख २६ २०८३, शनिबार
मुस्ताङ/  जिल्लास्थिजत नेपाली सेनाको इन्द्रबक्स गणले निलगिरि हिमालजस्तो उचाइमा प्रतिकूल मौसम र हिमपातका कारण हुनसक्ने प्राकृतिक विपद्को समयमा गर्नुपर्ने खोज तथा उद्धारको अभ्यास गरेको छ । निलगिरि हिमनदी उचाइमा अवस्थित रहेकाले सम्भावित प्राकृतिक विपद्मा गर्नुपर्ने खोज तथा उद्धार अभ्यास आयोजना गरिएको इन्द्रबक्स गणले जनाएको छ ।
अभ्यासको अन्तिमदिन शुक्रबार मुस्ताङको घरपझोङ गाउँपालिका–५ ड्रमक्याम्पमाथिको निलगिरि हिमालको फेदीमा खोज तथा उद्धार अभ्यास सम्पन्न गरिएको हो । प्रतिकूल मौसम, हिमपातलगायत प्राकृतिक विपद्मा निलगिरिसहित हिमनदीमा कोही फसेमा तत्काल उद्धारका लागि अभ्यास आयोजना गरिएको इन्द्रबक्स गणका प्रमुख सेनानी गौरवध्वज खाँडले बताए । उनका अनुसार इन्द्रबक्स गण, सैनिक उच्चशिखर शिक्षालय र मनाङको भैरव गुल्मका सैनिकले खोज तथा उद्धारको नमूना अभ्यास गरेका हुन् ।
प्रमुख सेनानी खाँडका अनुसार मुस्ताङ र मनाङका ५५ जनाभन्दा बढीले हिमाली क्षेत्रमा आइपर्ने प्राकृतिक विपद्सम्बन्धी खोज तथा उद्धार अभ्यासमा सहभागिता जनाएका हुन् । उनले २३ नंं बाहिनी अड्डा बागलुङका बाहिनीपति सहायकरथी विजय केशीको उपस्थितिमा समुद्री सतहबाट चार हजार ३०० मिटर उचाइमा अवस्थित निलगिरि हिमनदीको खोचमा अभ्यास गरेको जानकारी दिए ।
अभ्यासस्थलमा सैनिक उच्चशिखर शिक्षालयका महासेनानी सुशिल प्याकुरेल र इन्द्रबक्स गणका गणपति प्रमुख सेनानी खाँडसहितको उपस्थिति थियो । नेपाली सेनाद्वारा आयोजित यसप्रकारको अभ्यासमा सशस्त्र प्रहरी बल नेपाल ३३ नं गुल्म हेडक्वाटर जोमसोम, जिल्ला प्रहरी कार्यालय मुस्ताङ र राष्ट्रिय अनुसन्धान कार्यालयका प्रतिनिधिहरूको पनि सहभागिता थियो ।
विगतमा हुद्हुद् चत्रवातका कारण यहाँका कैसाङ हिमनदी इलाकामा पर्यटक हिमपात र हिमआँधीमा फसेका परिदृष्यलाई आधार बनाएर मुस्ताङका सुरक्षा निकाय, स्थानीय तह, विभिन्न सङ्घसंस्था तथा सरोकार भएका निकायलाई सहभागी गराई खोज तथा उद्धार अभ्यास सम्पन्न गरिएको प्रमुख सेनानी खाँडले उल्लेख गरे ।
डोरीको सहायताले झुन्डिएर खोचमा फसेका पदयात्री तथा शवलाई बाहिर निकाल्ने कृतिम अभ्यास गरिएको थियो । कैसाङ हिमनदी क्षेत्रको उचाइमा बेपत्ता भएका पर्यटक तथा पदयात्रीको खोजीका लागि नेपाली सेनाका दुई वटा तालिमप्राप्त कुकुरसमेत प्रयोग गरिएको प्रमुख सेनानी खाँडले जानकारी दिए । यसअघि अभ्यासको पहिलोदिन मुस्ताङको जोमसोमस्थित सैनिक क्याम्प नजिकैको पहाडमा खोज तथा उद्धार अभ्यास गरेको थियो । उच्च हिमाली क्षेत्रमा अक्सिजनको कमी, अत्यधिक चिसो र भौगोलिक विकटताका कारण हुने सम्भावित जोखिम तथा दुर्घटना न्यूनीकरणका साथै खोज तथा उद्धारकार्यलाई सहज बनाउने उद्देश्यले इन्द्रबक्स गणले यसप्रकारको नमूना अभ्यास आयोजना गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->