बागलुङ/जैमिनी नगरपालिकालाई बालमैत्री शासन युक्त नगर बनाउने अभियानले तीब्रता पाएको छ । आगामी जेठ १५ गतेभित्रै पालिकालाई बालमैत्री घोषणा गर्ने लक्ष्य राखेको नगरपालिकाले वडाको काम भने छिट्टै सक्न लागेको हो ।
पहिलो चरणमा वडा नं. १, २, ३, ६, ४, ८, ९ र १० बालमैत्री शासन युक्त वडा घोषणा भैसकेका शिक्षा शाखा प्रमुख मिरादेवी शर्माले जानकारी दिइन् ।
बालमैत्री नगर घोषणाका लागि विभिन्न ५१ वटा सूचक पुरा गर्नुपर्छ । शिक्षा र स्वास्थ्य तर्फका धेरै सूचक पुरा भैसकेका छन् भने केही भौतिक निर्माणको काम पुरा हुने चरणमा रहेको बताइएको छ ।
नगर उपप्रमुख हरिहर शर्माका अनुसार विद्यालयका संरचनाहरु पनि बालमैत्री बन्दै गएका छन् । संघिय र प्रदेश सरकारको अनुदानमा बन्ने कतिपय संरचना भने बजेट अभावमा ढीला भएका छन् । तर पनि विद्यालयहरुमा बाल क्लब गठन र परिचालन, बालमैत्री सूचकबारे बालबालिका, शिक्षक, अभिभावकलाई तालिम र अभिमुखीकरण गर्ने काम सकिएका हुन् ।
त्यस बाहेक समुदायमा सरसफाइ, बालबालिकालाई हेर्ने दृष्टीकोणमा सकारात्मक परिवर्तन ल्याउने, शुद्द खानेपानी, सबै बालबालिकाले पुर्ण खोप पाएको अवस्थाको ग्यारन्टी गर्ने जस्ता काम पनि सम्पन्न भएका छन् । वडा नं. १ मा बालमैत्री उद्यान समेत निर्माण भैरहेको छ ।
यो उद्यान निर्माणको काम सकिंएपपछि र सबै वडा घोषणापछि जिल्ला समन्वय समिति, प्रदेश सरकार समेतले अनुगमन गरेर प्रतिवेदन दिएपछि नगरपालिकालाई नै बालमैत्री घोषणा गरिने शर्माले जानकारी दिइन् ।





