आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

मनास्लु आरोहणको हीरक महोत्सव, शालिक अनावरण

मनास्लु आरोहणको हीरक महोत्सव, शालिक अनावरण


  • ढाेरपाटन संवाददाता
  • बैशाख २६ २०८३, शनिबार
गोरखा/  विश्वको आठौँ तथा नेपालको सातौँ अग्लो मनास्लु हिमालको प्रथम सफल आरोहणको ७०औँ वर्षका अवसरमा गोरखाको चुमनुब्री गाउँपालिका–१ सामागाउँमा शनिवार हीरक जयन्ती मनाइएको छ ।
चुमनुब्री गाउँपालिकाको आयोजना तथा मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप), नेपाल पर्वतारोहण सङ्घ, ट्रेकिङ एजेन्सिज एशोएसन (टान) लगायत संस्थाको सहआयोजनामा जयन्ती मनाइएको हो । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले हीरक जयन्तीको उद्घाटन गर्दै यो पर्यटन प्रवर्द्धनमा एक महत्त्वपूर्ण उपलब्धिका रूपमा रहेको बताए ।
मनास्लु केवल हिमाल मात्र नभई हाम्रो प्राकृतिक सम्पदा, साहसिक पर्यटन, स्थानीय संस्कृति र गण्डकी प्रदेशमा रहेको नेपालको अन्तर्राष्ट्रिय पहिचानको गौरव रहेको मुख्यमन्त्री पाण्डेको भनाई थियो । ‘यसको संरक्षण, प्रवर्द्धन र स्थानीय समुदायको समृद्धिसँग जोडिएको दिगो पर्यटन विकासमा प्रदेश सरकार प्रतिबद्ध छ’, उनले भने ।
कार्यक्रममा मनास्लुको प्रथम आरोही जापानी नागरिक तोसीयो इमानिसी र उर्गेन छिरिङ शेर्पाको सालिक अनावरण गरिएको छ । मुख्यमन्त्री पाण्डे, गाउँपालिकाका अध्यक्ष निमा लामाले जापानी आरोहीका छोरा कुनियो इमानिसी, नाति रसोयुके इमानिसीलाई प्रमाणपत्र, दोसल्ला ओढाएर सम्मान गरे । साथै सामागाउँका प्रथम आरोही मिङ्मार छिरिङ लामा, नाङ्स्याल छेदेन र डिकी लामालाई पनि सम्मान गरिएको छ ।
कार्यक्रममा भोटेलामा समुदायको सांस्कृतिक सेर्का नाच तथा अन्य सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो । ८१६३ मिटर अग्लो मनास्लु हिमाल प्रथम पटक सन् १९५६ मे ९ तारिखमा तोसियो इमानिसी र नेपाली नागरिक उर्गेन छिरिङ शेर्पाले सफल आरोहण गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->