बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

मदरल्याण्ड माविमा गणित हाजिरीजवाफ

मदरल्याण्ड माविमा गणित हाजिरीजवाफ


  • ढाेरपाटन संवाददाता
  • बैशाख २६ २०८३, शनिबार

पोखरा/ पोखरा–७, मासवारस्थित मदरल्याण्ड माविमा गण्डकी प्रदेशस्तरीय गणित हाजिरीजवाफ प्रतियोगिता आयोजना गरिएको छ । माध्यमिक शिक्षा परीक्षा (एसइइ) दिएका विद्यार्थीका लागि आयोजित प्रतियोगिता शनिबारदेखि सुरु भएको हो ।

विद्यालयले आयोजना गरेको यो चौंथो संस्करण हो । विद्यार्थीमा गणित शिक्षाको ज्ञान बढाउँदै परीक्षापछि फुर्सदिला भएका विद्यार्थीलाई पाठ्यक्रममा जोड्नका लागि प्रतियोगिता आयोजना गरिएको विद्यालयका प्लस टु इन्चार्ज नारायण आचार्यले बताए । यो बेला विद्यार्थी फुर्सदिलो बनेको र उनीहरुलाई यस्ता कार्यक्रममार्फत अध्ययनमा सक्रिय बनाउन सकिने उनले बताए ।

आचार्यका अनुसार प्रतियोगितामा विभिन्न ४७ वटा टिमले सहभागिता जनाएका थिए । ती टिममा १ सय ५० जना विद्यार्थी सहभागि छन् । हरेक टिममा २ देखि ३ जनाको दरले विद्यार्थीले प्रतियोगितामा भाग लिएको आचार्यले बताए ।
‘विभिन्न विद्यालयबाट एसइइ दिएका विद्यार्थीले समूह बनाएर यो प्रतियोगितामा भाग लिएका थिए । विद्यार्थी आफ्नै सक्रियतामा सहभागि थिए,’ आचार्यले भने, ‘यस्ता प्रतिश्पर्धामा विद्यार्थीको व्यक्तिगत सक्रियता निकै नै महत्वपूर्ण हुन्छ ।’ एसइइ परीक्षा दिएर फुर्सदिला भएका विद्यार्थीलाई पढाईमा जोड्नका लागि प्रतियोगिता आयोजना गरिएको उनले बताए । पोखरा सहरभित्र र आसपासका जिल्लाबाट पनि विद्यार्थीहरु प्रतियोगितामा सहभागि हुन आएका थिए ।

विद्यालयका प्राचार्य डा. नारायण बरालले विद्यार्थीको अन्तरनिहीत क्षमता प्रस्ट्याउने मौका विद्यालयले दिएको बताए । ‘सबै कुरा पुस्तकमा पढेर मात्र हँुदैन । व्यक्तिगत दक्षता र रुचीमा पनि भर पर्छ । गणित हाजिरीजवाफले विद्यार्थीका अन्तरनिहीन क्षमता बाहिर ल्याउन सघाउँछ,’ बरालले भने, ‘परीक्षा दिएर फुर्सदिला भएका बालबालिकालाई गणितको अभ्यासले उनीहरुलाई सक्रिय बनाईरहन्छ ।’

प्रतियोगितामा प्रथम हुने टिमले ३० हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् । दोश्रो हुनेले २० हजार, तेश्रोले १० हजार र चौथोले ५ हजार रुपैयाँ नगद पुरस्कार सहित प्रमाणपत्र पाउनेछन् । मदरल्याण्ड माविमा विज्ञान र व्यवस्थापन तर्फ ११ र १२ कक्षामा अध्यापन हुन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->