शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

सरसफाइ र पुर्वाधारले चिटिक्क हरिचौर

सरसफाइ र पुर्वाधारले चिटिक्क हरिचौर

घर घरमा फोहोर संकलन गर्ने बाल्टी राखेर सडक र गाउँ पनि सफा बनाइएको छ । नगरपालिकाले यो वडाको पुरानो स्वास्थ्य चौकीलाई नगर अस्पतालमा स्तरोन्नती गरेपछि सुनसान बजार गुल्जार बनेको छ ।


  • ढोरपाटन संवाददाता
  • बैशाख २८ २०८३, सोमबार

बागलुङ/स्थानीयको सक्रियताले गाउँमा सरसफाइ र सडक पुग्दा पुरानो सास्ती हट्न थालेको छ । गलकोट नगरपालिका–५ को हरिचौर बजार पुग्दा यो दृश्य देखिन्छ ।

यहाँ पुग्ने गोरेटा चिप्ला र अप्ठ्यारा थिए । रित्तिएका घर जीर्ण बन्दै थिए । सडक खाल्डैखाल्डा थिए । चौबिसे राज्यको ‘गलकोट दरबार’ पनि जीर्ण बन्दै थियो । अहिले ऐतिहासिक दरबार संरक्षण गरेर रंगरोगन गरिएको छ । यो दरबारलाई पर्यटकीय गन्तव्य बनाउन विभिन्न योजना पनि छन् । वडाले हरिचौर गाउँलाई पूर्ण सरसफाई, शुद्द खानेपानी पुगेको र चिटिक्क बनाउने अभियान थालेको छोटो समयमै पुरानो समस्या हटेको छ ।

अहिले त यो बजारका अप्ठ्यारा सडक ढलान गरिएको छ । बजार पस्ने खहरे खोलामा स्थानीय र वडाको साझेदारीमा २५ लाख खर्चेर पक्की पुल बनाइएको छ । सडक पेटीमा पहेलो रंग लगाएर पैदलयात्री र सवारी हिंड्ने सिमाना कोरिएको छ । सवारी साधन नचल्ने स्थानमा पक्की पदमार्ग बनेका छन् । घर घरमा फोहोर संकलन गर्ने बाल्टी राखेर सडक र गाउँ पनि सफा बनाइएको छ । नगरपालिकाले यो वडाको पुरानो स्वास्थ्य चौकीलाई नगर अस्पतालमा स्तरोन्नती गरेपछि सुनसान बजार गुल्जार बनेको छ ।

दैनिक १ सय ५० बढी बिरामी त यहाँ उपचारका लागि आउने गरेका छन् । मध्यपहाडी लोकमार्ग नजिकै रहेकोले छिमेकी पालिका र जिल्लाका बिरामीले पनि यहाँ आएर उपचार सेवा लिन थालेपछि गुमनाम भएको बजारमा व्यवसाय पनि बढ्न थालेको स्थानीय योगेश भण्डारीले बताए । रित्तिएका घरमा ताराखोला, भुजुङे लगायतका गाउँबाट बसाई सरेर बस्न थालेका छन् । उनीहरुले बिग्रेका झ्याल ढोका सजाएर चिटिक्क बनाइ बसेका छन् ।

नगरपालिकाले पुराना बजारको सफाइ गर्दै जीर्ण सडक स्तरीय बनाउन वडा र नगरस्तरमा बजेट विनियोजन गर्न थालेपछि यो परिवर्तन आएको हो । हरिचौरकै खहरे खोला साना सिंचाइ आयोजना बनाइएकोले खोलाको बाढी पहिरो पनि नियन्त्रणमा आएको छ । खहरेमा वडाकै बजेटमा दुइ वटा पक्की पुल बनेपछि वर्षातको सास्ती पनि हटेको छ ।

हरिचौर बजारदेखि कौलेनी हुँदै टेउवा जाने सडक पक्की बन्दै छ । यो सडक पक्की बन्दा टेउवामा रहेको मुर्तिकला परियोजनामा पनि पर्यटक पुग्न थालेका छन् । २०७६ मा नेपालसहित १० देशका मुर्तिकारले बनाएका मुर्तीहरु स्थापना गरिएको छ ।

टेउवा हुँदै ११ हजार फिटको अग्लो पहाड (घुम्टे) जाने पदमार्ग पनि बनाइएको छ । घुम्टेमा हरेक वर्ष र बैशाख पुर्णिमाको दिन मेला लाग्छ । अन्य समयमा पनि घुम्टे चढ्नेहरु धेरै हुन्छन् । अध्यक्ष पवन हमालले वडामा आएको बजेटलाई सही रुपमा सदुपयोग गरेर काम सक्दा हरिचौर बजार र वडा नै चिटिक्क देखिएको बताए ।

‘हामीले भएको बजेटमा स्थानीयको श्रमदान पनि जोडेर पुर्वाधार बनाएका हौं’ उनले भने, ‘स्टिमेट अनुसारको लगानी र काम भयो भने सबै योजना सफल बन्छन् ।’ वडा अध्यक्ष हमाल आँफै ढुंगा बोक्ने, सिमेन्ट घोल्ने र सडक बनाउने लगायतको काममा खटिन्छन् । लागत साझेदारीलाई वडाले पुर्ण रुपमा पालना गर्दा गरेका काम गुणस्तरीय बन्दै गएको प्रमुख प्रशासकीय अधिकृत डम्बर जिसीले बताए ।

म्ध्यपहाडी लोकमार्गदेखि ५ किमीको यात्रा गरेपछि वडाको सबै स्थानमा पुगिने भएकोले विकासका योजना बनाउन पनि सहज भएको स्थानीय तुलसी निउरेले बताए । हटियादेखि ताराखोला जाने सडक पनि हरिचौर बजार भएर गएकोले मुख्य सडक प्रदेश सरकारको बजेटबाट कालोपत्रे गरिएको छ । बजारका भित्री सडकहरु वडा र नगरको बजेट परिचालन गरिएको हो । ‘अस्पताल बनेपछि स्थानीयले पनि श्रमदान गरेर विकासमा साथ दिएका छन्’ वडाध्यक्ष हमालले भने, ‘सरसफाइमा पनि अब्बल वडा बनाउने लक्ष्य छ ।’

‘एक घर एक धारा’ अभियानमा पनि यो वडाका अधिकांस घरमा शुद्द खानेपानी पुगिसकेको उनले बताए । खेलमैदान, नगर स्तरीय बालमैत्री पार्क पनि बनेका छन् । पुराना बजारमध्ये वडा नं. २ को नरेठाँटी, वडा नं. ३ को हटिया बजार, वडा नं. ४ को खरुवा, वडा नं. ८ को काँडेवास र वडा नं. ९ को बाँस्खोला बजार सरसफाइ गरेर चिटिक्क बनाइएको छ ।

सबै पुराना बजारमा सडक कालोपत्रे गरिएको छ भने सरसफाइ गर्दा घुम्न लायक बनेको वडा नं. ४ का अध्यक्ष बलबहादुर खत्रीले बताए । वडा कार्यालय रहेको स्थानसम्म कालोपत्रे सडकले जोड्ने नगरको नीति समेत छ । तीमध्ये वडा नं. १० को पाण्डवखानी र वडा नं. ११ को रिघामा भने कालोपत्रे सडक जोड्न बाँकी छ । ती वडाको दुरी टाढा भएकोले रणनीतिक सडकमार्फत काम भैरहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->