शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

रायडाँडा जोड्ने सडकको भकुण्डे खण्डमा कालोपत्र

रायडाँडा जोड्ने सडकको भकुण्डे खण्डमा कालोपत्र

‘यो सडकको भकुण्डे खण्डमा स्तरोन्नतिसहित एक किलोमिटर सडक ७ मिटर चौडामा प्रिमिक्स प्रविधिको कालोपत्र हुनेछ,’ सडक डिभिजन कार्यालय बागलुङका सूचना अधिकारी इन्जिनियर विष्णु प्रसाद लामिछानेले भने ।


  • ढोरपाटन संवाददाता
  • बैशाख २९ २०८३, मंगलबार

बागलुङ/भौगोलिक विकटका कारण बागलुङ नगरपालिकाको विशेष क्षेत्रमा सूचीकृत वडा नं. ११ को रायडाडाँलाई जोड्ने डोठेआहाल–रामतोला–कुश्मी सडकको भकुण्डे खण्डमा कालोपत्र गर्न सुरु गरिएको छ ।

यो सडकको ट्याक खुलेको २४ वर्षपछि बागलुङ नगरपालिका वडा नं. १० भकुण्डेको डोठेआहाल खण्डमा कालोपत्र हुन लागेको हो । २०५८ सालमा ट्याक खुलेर तित्याङ, भकुण्डे हुँदै रायडाँडामा सडक पुगेको थियो ।

संघिय सरकारको बजेटबाट सडक कालोपत्र हुन लागेको सडक डिभिजन कार्यालय बागलुङले जनाएको छ । २०८३ जेठ २५ गतेभित्र काम सम्पन्न गर्नेगरी निर्माण कम्पनी हिल साइड पिके जेभीले २०८२ बैशाख २१ गते २ करोड ९५ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेर सडक कालोपत्र गर्ने काम शुरु गरेको हो ।

‘यो सडकको भकुण्डे खण्डमा स्तरोन्नतिसहित एक किलोमिटर सडक ७ मिटर चौडामा प्रिमिक्स प्रविधिको कालोपत्र हुनेछ,’ सडक डिभिजन कार्यालय बागलुङका सूचना अधिकारी इन्जिनियर विष्णु प्रसाद लामिछानेले भने ।

‘निरन्तरको वर्षा, कालोपत्र गर्न प्रयोग हुने बिटुमिनको अभाव र मुल्यवृद्विले असर गरेपनि काम निर्धारित समयमा सकिन्छ,’ हिल साइड कम्पनीका सञ्चालक दल श्रीसले भने । सडक चौडा पार्ने, पर्खाला लगाउने र ग्याबिन जाली भर्नेलगायतका काम सकिएकाले धमाधम कालोपत्रको काम भइरहेको श्रीसले जानकारी दिए ।

रायडाँडामा सडक पुगेपनि जीर्ण हुँदा ग्रामीण बस्तीका बासिन्दाले सधैं सास्ती खेपेका थिए । ‘यो सडक कालोपत्र भएपछि यात्रा निकै सहज हुनेछ,’ बागलुङ नगरपालिका वडा नं. ११ रायडाँडाका वडा अध्यक्ष ज्ञानेन्द्र गौतमले भने ।

लामो समय रोकिएको काम स्थानीय तहमा जनप्रतिनिधि आएपछि मात्र अगाडि बढेको हो । सडक कालोपत्र भएपछि स्थानीयलाई यात्रा र कृषि उपज बजारीकरणमा सहज हुने गौतमको भनाइ छ । निरन्तरको प्रयासले पहरा र भीरले जोखिमपूर्ण रायडाँडा कालोपत्र सडकले जोडिने चरणमा रहेको गौतमले बताए ।

डोठेआहाल–रामतोला–कुश्मी सडकको कुल लम्बाई आठ किलोमिटर रहेको छ । बहुवर्षे योजना रहेकाले हरेक वर्ष बजेट विनियोजन हुँदा रायडाँडाको रामतोला हुँदै कुश्मीसम्म कालोपत्र हुने अपेक्षा गरिएको गौतमले बताए ।

नगरपालिकाले रायडाँडाको भौगोलिक कठिनाइको विश्लेषण गरेर विशेष क्षेत्रको रुपमा सूचिकृत गरेको छ । विशेष क्षेत्र भएकोले यहाँ पूर्वाधार निर्माण र श्रोत साधन बाँडफाँडमा पनि प्राथमिकता दिएको नगरप्रमुख बसन्तकुमार श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->