आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

धवलागिरी गाउँपालिकाका १ सय २९ योजना कार्यान्वयनमा

धवलागिरी गाउँपालिकाका १ सय २९ योजना कार्यान्वयनमा


  • अमृत बास्कुने
  • बैशाख २९ २०८३, मंगलबार

म्याग्दी/धवलागिरी गाउँपालिकामा चालु आर्थिक वर्ष २०८२÷०८३ का लागि छनौट भएका १ सय ५१ मध्य वैशाख २६ गतेसम्म १ सय २९ योजना सम्झौता भएका छन् । सम्झौता भएका सबै योजना कार्यान्वयनमा छन् ।

गाउँपालिकाले ९ योजना ठेक्कामार्फत र १ सय २० योजना उपभोक्ता समितिसँग सम्झौता गरेर कार्यान्वयन चरणमा छन् । हालसम्म सम्झौता भएकामध्ये ३० वटा योजना सम्पन्न भइसकेको प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद शर्माले बताए ।

गाउँपालिकाको चालु आर्थिक वर्षको पुँजिगत शिर्षकमा १४ करोड ६८ लाख ३५ हजार बजेट विनियोजन भएकोमा २२.४९ प्रतिशत अथवा ३ करोड ३० लाख २४ हजार खर्च भएको छ । लक्ष्यभन्दा बढी आन्तरिक आम्दानी भएको शर्माले बताए ।

त्यस्तै ४५ लाख आन्तरिक आम्दानी गर्ने लक्ष्य राखिएकोमा वैशाख अन्तिम सातासम्म ६१ लाख ५२ हजार अथवा लक्ष्यभन्दा बढी आम्दानी भएको छ । वैदेशिक प्रयोजनका लागि कागजात प्रमाणित गराउने बढेका कारण राजस्व वृद्धिमा सकारात्मक प्रभाव परेको हो ।

मुनामा सोमबार भएको सार्वजनिक सुनुवाई कार्यक्रममा जिल्लाको सबैभन्दा दुर्गम बस्ती धवलागिरी–१ गुर्जा सडक सञ्जालमा जोडिएको सकारात्मक पक्ष रहेको बताईएको थियो । त्यसैगरी जलजला–ढोरपाटन हुदै पुर्वी रुकुम जोड्ने सडकको मार्ग खुलेको र मुदीमा वडा कार्यालय भवन सञ्चालनमा आएको प्रमुख प्रशासकीय अधिकृत शर्माले जानकारी दिए ।

गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पुनले स्थानीय आवश्यकताको मागको आधारमा पूर्वाधारको पहुँच विस्तार गरिएको बताउँदै यसबाट स्थानीय जनजीवनमा सहजता ल्याएको बताए । वडा नं. ५ को भेडिखाल्टामा पनि यसै आर्थिक वर्षभित्र सडक पु¥याउन निर्माण व्यवसायी परिचालित भएको अध्यक्ष पुनले बताए ।

खाम्ला–खिवाङ सडक स्तरोन्नतिका लागि ठेक्का लागिसकेको, मुना–मुदी सडकको दरखोलामा मोटरेबल पुल र फलीयागाउँमा एक घर एक धारा सहितको खानेपानी योजना बनाउन प्रदेश र संघीय सरकारसँग पहल भइरहेको छ ।

निर्माण भएका आधारभूत पूर्वाधारको सुधार गर्दै गाउँमै रोजगारी सिर्जना, आयआर्जन र पर्यटन प्रर्वद्धनमा जोड दिदै शिक्षा, स्वास्थ्य सेवालाई सहज बनाउन गाउँपालिकाले प्रयास गरिरहेको अध्यक्ष पुनको भनाई थियो ।

गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले गुर्जा जोड्ने सडकको देउराली–लत्रवाङ खण्डको अप्ठ्यारो सडक सुधारका लागि ठेक्का लागेको, गुर्जाको ढल ब्यवस्थापन योजना निर्माणमा ठेकेदारले गरेको कमजोरी पहिचान गरि भत्काएर पुन बनाउन लगाएको बताए । मुना–जलजला–ढोरपाटन सडकमा यातायात सञ्चालन योग्य बनाउन पहल भएको उनको भनाई थियो ।

प्रशासकीय र ताकम अस्पतालको भवन निर्माणलाई पूर्णता दिन प्रयास गरिएको जानकारी दिंदै पालिकाका साथै प्रदेश र संघीय सरकारका योजनालाई गुणस्तरीय बनाउन अनुगमन, निगरानी, सहजिकरण, समन्वय गरेको उपाध्यक्ष पुनले बताए ।

कार्यक्रमका सहभागीले ढोरपाटनसँगको सिमाना विवाद सुल्झाउन, विकासका योजनालाई गुणस्तरीय र टिकाउ बनाउन तथा समयमै सम्पन्न गराउन भूमिका खेल्न, औपचारिक कार्यक्रम गर्दा समयमा ध्यान दिन, मार्ग खोलिएका सडकको स्तरोन्नति गरेर नियमित यातायात सञ्चालन योग्य बनाउन, कृषि शाखामा जनशक्तिको ब्यवस्थापन गर्न, पशु सेवासँग सम्बन्धित कार्यक्रम कार्यान्वयनमा सहजिकरण गर्न माग गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->