पोखरा/गत पुस १७ गते अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेका बागलुङका प्रमुख जिल्ला अधिकारीको हैसियतमा कार्यरत सहसचिव कुमानसिंह गुरुङले सफाइ पाएका छन । उनलाई पर्वतको कुश्मा नगरपालिका ७ मा निर्माणाधीन जेष्ठ नागरिक भवन भ्रष्टाचार प्रकरणमा अख्तियारले मुद्दा दायर गरेको थियो ।
गुरुङसहित निर्माण कम्पनी मल्ल कन्स्ट्रक्सन एण्ड सप्लायर्ससहित, तत्कालीन लेखा अधिकृत कृष्णप्रसाद शर्मा, तत्कालीन इन्जिनियर आशिष शाक्य, निर्माण कम्पनीका सञ्चालक लालबहादुर मल्लविरुद्ध मुद्दा दायर भएको थियो ।
मंगलबार विशेष अदालतले उनलाई सफाइ दिएको हो ।
आर्थिक वर्ष २०७८÷०७९ मा ज्येष्ठ नागरिक भवन निर्माण गर्दा ठेकेदारसँग मिलेमतो गरेर भ्रष्टाचार गरेको अख्तियारको दाबी थियो । उनीविरुद्ध एक करोड १३ लाख ४४ हजार २१६ रुपैयाँ बिगो कायम भएको थियो । मुद्दा दायर भएकोमा सबैले सफाइ पाएका छन् ।





