आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

बजारमा छोपाछोप हुन्छ राम्चेको चिज

बजारमा छोपाछोप हुन्छ राम्चेको चिज

दैनिक २ सय ५० लिटरसम्म दूध संकलन हुने र त्यो दूधको चिज उत्पादन गर्दा पनि बजारको माग धान्न नसकिएको हो ।


  • अमृत बास्कुने
  • बैशाख ३० २०८३, बुधबार

म्याग्दी/जिल्लाको अन्नपुर्ण गाउँपालिका–८ राम्चे उत्पादन हुने चिजलाई बजारको माग धान्नै मुस्किल भएको छ । वजारमा माग उच्च भएकोले माग अनुसार आपुर्ति गर्न नसक्दा अहिले निकै गाह्रो भएको पुर्जाको भनाइ छ । २०७२ देखि शुरु भएको राम्चे डेरी तथा चिज उद्योगले अहिले बजारको माग पु¥याउन नसक्दा समस्या भएको हो ।

दैनिक २ सय ५० लिटरसम्म दूध संकलन हुने र त्यो दूधको चिज उत्पादन गर्दा पनि बजारको माग धान्न नसकिएको हो । अहिले राम्चे क्षेत्रका २८ जना कृषकले ४० हाराहारी गाई पालेका छन् । चिज उत्पादन हुने भएकाले गाइको दूध गाउँमै बिक्री गरेर राम्रो आम्दानी पनि गर्न सकिने स्थानीयको भनाइ छ । स्थानीय करुणा गर्बुजाले आफ्नो गाउँमै दूध बेचेर मासिक १० देखि १५ हजार सम्म आम्दानी हुने गरेको बताइन् । ‘पहिला दुध दुहेर मोही पार्ने र घ्यू उत्पादन गर्ने भए पनि अहिले दूध नै बेच्दा राम्रो आम्दानी हुने भएकोले उत्साह पनि बढेको छ,’उनले भनिन्,‘ चिज उद्योग सुरु भएपछि नियमित रुपमा दूध बेच्न पाएको छौँ ।’

उद्योग संचालक यामबहादुर पुर्जाका अनुसार दैनिक २५० लिटर दूधबाट चिज उत्पादन हुने गरेको छ । समुद्री सतहदेखि २ हजार ३ सय मिटरको उचाइमा रहेको राम्चेमा यस्तो उद्योग संचालनमा आउला भन्ने गाउँलेको कल्पनामै थिएन ।

७ लाख रुपियाँको लागतमा २०७२ देखि शुरु भएको चिज उद्योगमा अहिले नियमित चिज उत्पादन भइरहेको छ ।
भारतीय सेनाबाट सेवा निवृत्त भएर केही वर्ष अफगानिस्तान पुगेका यामबहादुरले त्यहाँबाट फर्केर चिज उद्योग सुरु गरेका हुन् ।

‘अहिले दैनिक २ सय ५० लिटरसम्म दूध संकलन हुन्छ तर त्यति दूधको चिज उत्पादन गरेर बजारमा भएको माग पनि धान्नै सकिँदैन । एक केजी चिज उत्पादनका लागि १३ लिटर गाईको दूध आवश्यक पर्छ,’उनले भने,‘अहिले पर्यटकीय सिजन हो र यही समयमा पर्यटकीय क्षेत्रबाट चिजको माग उच्च हुन्छ तर त्यो माग अनुसार उत्पादन गर्न भने सकिँदैन ।’

राम्चेकी प्रेमकुमारी गर्बुजाका अनुसार दूधको गुणस्तरको आधारमा प्रतिलिटर ६५ देखि ६८ रुपियाँ मूल्य पाइन्छ ।

चिज उद्योगले दूध खरिद गर्न थाले पछि गाउँमै पनि आम्दानी गर्न पाइएको अर्का कृषक चित्र गर्बुजाको भनाइ छ ।

पर्यटकीय स्थल घान्द्रुक, लान्द्रुक, पोखरा, घोडेपानी तथा भुरुङ तातोपानी, पोखरेबगर, शिख, बेनीलगायतको क्षेत्रमा चिजको उच्च माग रहेको छ ।

अन्नपूर्ण गाउँपालिका ८ का वडाध्यक्ष खमबहादुर गर्बुजाका अनुसार किसानलाई प्रोत्साहन गर्न वडाले गतवर्ष कृषकलाई दूध बोक्ने भाँड क्यान बितरण गरेको थियो भने यो वर्ष चिज उत्पादनको लागि क्रिम छुट्याउने मेसिन उपलब्ध गराएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->