बागलुङ/बागलुङ दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडले दैनिक ३ हजार ५ सय लीटर दुध संकलन गरी बागलुङ बजार सहितका स्थानमा बितरण गरेको बताएको छ । स्थापनाको २६ औं वर्षमा प्रवेशको अवसरमा पत्रकार सम्मेलन गरेर संस्थाका अध्यक्ष दीपक गौतमले उक्त जानकारी दिए ।
जिल्ला नै दूधमा आत्मनिर्भर बनाउने अभियानमा सहकारी संस्थाको भूमिका महत्वपुर्ण भएको समेत उनले जनाए । जिल्लास्थित भेटेनरी तथा पशु सेवा विज्ञ केन्द्रको तथ्यांकमा जिल्लाका नागरिकको तुलनामा प्रतिव्यक्ति ९३ लीटर पुग्ने गरी वार्षिक दुध उत्पादन भएको देखिएको छ । सामान्य व्यक्तिलाई वार्षिक ९२ लीटर दूध आवस्यक पर्छ । यसर्थ त्यो संख्या आत्मनिर्भरमा पुगेको हो ।
सहकारीले विशेषगरी बागलुङ नगरपालिका, काठेखोला गाउँपालिका र जैमिनी नगरपालिकाको दूध संकलन गर्दै आएको छ । त्यस बाहेक गलकोट, बुर्तिवाङ लगायतका स्थानमा पनि स्थानीय किसानले उत्पादन गरेको दूधको बजारीकरणमा संस्थाले साथ दिएको छ । २०५७ सालमा १ सय ४१ दूधबाट शुरु गरेको कारोवार अहिले ३ हजार ५ सय लीटरमा आएको हो ।
आम नागरिकलाई दुध खुवाउने लक्ष्यसहित आएको सहकारीले उत्पादन गर्ने किसानलाईपनि आर्कषक मूल्य दिन सकेको छ । दूधको गुणस्तरको आधारमा मूल्य दिने गरेको सहकारीले प्रतिलिटर ९६ रुपैयाँसम्म किसानलाई दिएको छ । कतिपय किसानले त प्रतिलिटर १ सय २४ रुपैयाँसम्म पाउने गरेका छन् । बजारमा प्रतिलिटर १ सय २० रुपैयाँमा दूध बिक्री भैरहेको छ ।
सहकारीका अनुसार गत आर्थिक वर्ष दूधमा ७ करोड ५२ लाख ९१ हजार, सादा दहीमा २ करोड १३ लाख, प्याकेट दहीमा ३० लाख, घिउमा २१ लाख, पनिरमा २३ लाख, छुर्पीमा ५४ लाख, ८८ हजार र खुवामा ३७ हजार रुपैयाँ गरी वर्षभरी १० करोड ९९ लाख १७ हजार रुपैयाँ भुक्तानी दिइएको हो ।
दूधको गुणस्तरलाई ध्यान दिइ हाल प्रवाह भैरहेको कार्यालयलाई विस्तार गरी मापदण्ड अनुसारको भवन बनाएर सेवा बढाउने योजना गौतमले सुनाए । कार्यक्रममा जिल्ला सहकारी संघका पुर्व अध्यक्ष तथा सहकारीका सल्लाहकार रामबहादुर जिसीले बागलुङ, कास्की र तनहुँमा सहकारी संस्था मार्फत दुध उत्पादन, बजारीकरण र परिकार निर्माणमा प्रगती भएको र सेवाग्राहीले पनि राहत पाएको बताए ।
दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष दीपक गौतमको अध्यक्षता, गोबिन्द सापकोटाको सञ्चालन र रामबहादुर हमालको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो । जेठ १ गते स्थापना दिवशको अवसरमा सहकारीले निशुल्क मोही वितरण गरी उत्पादनको ब्राण्डिङ गर्ने योजना समेत बनाएको छ ।





