शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

बालविवाहको चुनौतीमा स्थानीय तह

बालविवाहको चुनौतीमा स्थानीय तह

भागी विवाह गर्नेलाई पालिकाले अहिलेसम्म केही गर्न सकेको छैन । मागेर गर्ने विवाहलाई तत्कालको लागि रोकेको हो । उमेर पुगेपछि विवाह गर्ने शर्तमा कतिपय विवाह रद्द भएको नगर शिक्षा शाखाकी प्रमुख मिरा शर्माले जानकारी दिइन् ।


  • ढोरपाटन संवाददाता
  • बैशाख ३१ २०८३, बिहिबार

बागलुङ/बागलुङ र गलकोट नगरपालिका अघिल्लो वर्ष बालमैत्री घोषणा भइसकेका छन् । जैमिनी नगरपालिकाले भ्याए जेठ १५ गते नभ्याए आगामी असार मसान्तभित्र बालमैत्री घोषणको तयारीमा जुटेको छ । तर घोषणा भएका वा नभएका पालिकामा बालविवाह चुनौती बनेको छ ।

अन्तिम तयारी गरिरहेको जैमिनीमा चालु वर्षमात्रै ३० वटा बालविवाह बदर भएका छन् । भागी विवाह गर्नेलाई पालिकाले अहिलेसम्म केही गर्न सकेको छैन । मागेर गर्ने विवाहलाई तत्कालको लागि रोकेको हो । उमेर पुगेपछि विवाह गर्ने शर्तमा कतिपय विवाह रद्द भएको नगर शिक्षा शाखाकी प्रमुख मिरा शर्माले जानकारी दिइन् ।

अभिभावक र विवाह गर्ने तयारीमा रहेका बालबालिकालाई नै बालमैत्री अभियानमा समावेश गराइएको छ । घोषणाको दिन नजिक आइरहेपनि बालविवाह अन्त्यको काम चुनौती बनेको शर्माको भनाइ छ । शर्माका अनुसार विद्यालय उमेरमै विवाह गर्ने कुरीतिले सूचक पुरा गर्न कठिन भएको हो । ‘मागी विवाह त हामीले अभिभावकलाई अभिमूखिकरण गरेर रोक्दैछौं, तर भागी विवाह रोक्ने काम चुनौतीको भयो’ शर्माले भनिन्, ‘वडा र टोलटोलमा बालअधिकार समिति बनाउने र बालविवाहविरुद्व समिति परिचालन गर्न खोजेपनि शुन्य बनाउन सकिएको छैन ।’ बालविवाह शुन्य नगर बनाउने अभियान पुरा गर्न धेरै सास्ती पर्ने उनले बताइन् ।

यो सास्ती घोषणा भैसकेका पालिकामा पनि छ । सदरमुकामको बागलुङ नगरपालिका एक वर्षअघि २०८१ माघ ९ गते बालमैत्री घोषणा भएको थियो । तर यहाँ पनि बालविवाहका घटना छिटफुट देखिइरहेका छन् । कानूनले २० वर्ष नपुगी विवाह गर्न नपाउने प्रावधान राखेको छ । तर विद्यालय उमेरमा पनि विवाह गर्नेहरु भेटिएको नगर शिक्षा अधिकारी धनप्रसाद पोखरेलले बताए । ‘बालमैत्री घोषणा अभियान हो, केही कमजोरीहरु सच्याउने र सूचक पुरा गर्दै जाने हो’ उनले भने, ‘लाखौं करोडौै खर्चेर बनाउने पुर्वाधारहरु सहजै पुरा होला, बालविवाह रोक्न कठिन छ ।’ विवाह गर्ने काम कानूनले रोक्छ, तर जबरजस्ती रोक्दा बालबालिकाले जीवननै जोखिममा पार्ने खतरा भएको उनले बताए ।

दुइ वर्षअघि घोषणा भएको गलकोटले पनि बालविवाहको चुनौती व्यहोरेको छ । यहाँका कतिपय बस्तीमा बालविवाह धमाधम भैरहेका छन् । नगरपालिकाले निरन्तर पहल गर्दा पनि रोक्न नसकेको सामाजिक विकास समितिका संयोजक हिमबहादुर भण्डारीले बताए ।

विवाहसंगै धु्रमपान र मध्यपानमा बालबालिका दुव्र्यसनी बनेका समेत छन् । त्यस्ता वस्तुको ओसारपसारको काममा पनि बालबालिकालाई बचाउन कठिन भएको नगर शिक्षा अधिकृत शिव खड्का बताउँछन् ।

बालमैत्री नगरको सूचकमा धु्रमपान, मध्यपान जस्ता कुलतबाट बालबालिकालाई जोगाउने समेत उल्लेख छ । ‘बालबालिकालाई चुरोट तथा मदिरा बेचिदिने व्यवसायीमा समस्या छ’ खड्काले भने, ‘अभिभावक र अन्य क्षेत्रबाट हुने दुव्र्यवहार शुन्य बनाउन सकिएको छैन ।’

तमानखोला, निसीखोला गाउँपालिका र ढोरपाटन नगरपालिकामा त बालविवाह बस्तीबस्तीमा देखिन्छ । आमा समूहको बैठकमा समेत २० वर्ष नपुगेकाहरु सहभागि भएको भेटिने गरेका छन् । मुख्य सूचकमा समस्या भएपनि जैमिनीले नगरपालिकाभित्रका अधिकांस वडालाई बालमैत्री घोषणा गरिसकेको छ । बालमैत्री स्थानीय शासन २०६८ ले तोकेका ५१ वटा सूचक पुरा भएपछि प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले अनुगमन गरी सूचक पुरा भएको प्रतिवेदन दिएपछि पालिका बालमैत्री घोषणा गर्न पाउने प्रावधान छ ।

घोषणा भैसकेका र घोषणा गरिने स्थानीय तहमा भौतिक पुर्वाधार तर्फका सूचक आन्तरिक बजेटले पुरा गर्ने लक्ष्य राखिएको छ । शिक्षा र स्वास्थ्य तर्फका अधिकांस सूचक पुरा भएका छन् । नगर स्तरीय बाल उद्यानका लागि जैमिनीले बजेट विनियोजन गरेर काम थालिसकेको उपप्रमुख हरिहर शर्माले बताए । छिटफुट रुपमा रहेको बालविवाह अन्त्य गर्न नसके अनुगमनमा अनुत्तिर्ण हुने खतरा बढी छ । जिल्लाभर बालविवाहका घटना के कति छन् भन्ने यकिन तथ्यांक भने छैन ।

नेपाल सरकारले २०८७ सालभित्र देशलाई नै बालमैत्री घोषणा गर्ने लक्ष्य राखेको छ । गण्डकी प्रदेशमा बागलुङ चौथो बालमैत्री स्थानीय शासनयुक्त नगर बनेको थियो । यसअघि नवलपुरको देवचुली, स्याङजाको भीरकोट, बागलुङको गलकोट बालमैत्री बनिसकेका छन् भने जैमिनीले असार मसान्तभित्र घोषणा गर्न लागेको हो ।

बालमैत्री स्थानीय शासनका लागि स्वास्थ्य, शिक्षा र समुदाय तहमा गरी ५१ वटा सूचक पुरा गर्नुपर्छ । बालबालिका निकृष्ट श्रमबाट मुक्त, बालविवाहरहित र अर्थपूर्ण सहभागिता सहितको बालअधिकार पाएको तथ्यांकका लागि बालमैत्री नगर अवधारणा आएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->