आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

म्याग्दीको मुदीमा मनाइयो ६६ औं धवलागिरि आरोहण दिवस

म्याग्दीको मुदीमा मनाइयो ६६ औं धवलागिरि आरोहण दिवस

आरोहण दिवसको अवसरमा पर्वतारोही कृष्ण केसीलाई टान गण्डकीले कदरपत्र प्रदान र दोसल्ला ओढाएर सम्मान गरेको छ ।


  • ढोरपाटन संवाददाता
  • बैशाख ३१ २०८३, बिहिबार

म्याग्दी/संसारका ८ हजार मिटर भन्दा अग्ला १४ हिमालमध्ये सातौँ अग्लो धौलागिरि हिमालको ६६ आरोहण दिवस बुधवार विविध कार्यक्रमका साथ मनाइएको छ ।

८१६७ मिटर अग्लो धौलागिरि हिमाल अवस्थित धौलागिरि गाउँपालिका–४ मुदीमा पदमार्ग र घरबास प्रवद्र्धन तथा पर्वतारोही सम्मान गरेर दिवस मनाइएको हो ।

सन् १९६० मे १३ मा स्विस–अस्ट्रियन संयुक्त आरोहण टोलीले धवलागिरिको सफल आरोहण गर्दै इतिहास रचेको थियो । म्याक्स आइसेलिनको नेतृत्वमा गएको उक्त टोलीमा दुई नेपाली आरोही निमा दोर्जी शेर्पा र ङवाङ्ग दोर्जी शेर्पासहित सात जना सदस्य सहभागी थिए ।

गण्डकी प्रदेशको पर्यटन तथा उद्योग मन्त्रालय, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको सहयोग र धौलागिरि गाउँपालिकाको समन्वयमा ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल(टान) गण्डकीको आयोजनामा धौलागिरिको फेदीमा रहेको मुदीमा दिवस मनाइएको हो ।

धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले हिमाल अवस्थित वडाको भूूगोलमा पहिलोपटक आरोहण दिवस मनाइएको बताए । ‘पहुँच र पहलको कमीले यसअघिका धौलागिरि आरोहण दिवस पोखरा र काठमाडौँमा मनाउने गरिएको थियो’, उनले भने, ‘धौलागिरि हिमालको पहिचान र म्याग्दीमा रहेको सन्देश प्रवाह गराउन यो कार्यक्रम सफल भएको छ ।’

आरोहण दिवसको अवसरमा पर्वतारोही कृष्ण केसीलाई टान गण्डकीले कदरपत्र प्रदान र दोसल्ला ओढाएर सम्मान गरेको छ । धौलागिरि हिमाल आरोहणबापत यस याममा सरकारले एक करोड ३४ लाख ५४ हजार ५५० सलामी दस्तुर सङ्कलन गरेको छ । यस यामका लागि कूल चार समूहमा १८ पुरुष र १२ महिला गरी ३० जनाले धौलागिरि अरोहणका लागि अनुमति लिएका पर्यटन विभागले जनाएको छ ।

पर्यटन विभागको अभिलेखअनुुसार ६६ वर्षको अवधिमा ७०० जना भन्दा बढीले धौलागिरि हिमाल आरोहण गरेका छन् । कार्यक्रममा धवलागिरी गाउँपालिका–४ का वडाध्यक्ष यामप्रसाद घर्ती र स्थानीय पर्यटन व्यवसायी गणेश घर्तीले सडकका कारण धौलागिरि चक्रीय पदमार्ग मासिएको तथा पर्वतारोहीहरू हेलिकप्टरबाट सिधै आधार शिविर पुग्न थालेपछि पदमार्ग सुनसान बनेको गुनासो गरे ।

गण्डकी प्रदेशका पर्यटन तथा उद्योगमन्त्री यसोदा रिमालले हिमालको संरक्षण र प्रवद्र्धनमार्फत रोजगारी र आयआर्जनको अवसर सिर्जनाका लागि सरकारले प्राथमिकता दिएको बताइन् । गण्डकी प्रदेशसभा सदस्य रेशम जुग्जालीले आन्तरिक पर्यटक लक्षित प्रवद्र्धन कार्यक्रम र नयाँ गन्तव्यको पहिचान, पूर्वाधार निर्माण र प्रवद्र्धनको आवश्यकतामा जोड दिए ।

पर्यटन बोर्ड गण्डकीका प्रमुख मणिराज काफ्ले, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका प्रमुख मनहर कडरिया, पोखरा पर्यटन परिषद्का उपाध्यक्ष हरि भुजेल, टान गण्डकीका अध्यक्ष कृष्ण आचार्यले धौलागिरि, ढोरपाटन क्षेत्रलाई समेटेर नयाँ गन्तव्यको रूपमा विकास गर्न सम्भाव्यता अध्ययन, पूर्वाधार र सुरक्षामा जोड दिए ।

धवलागिरि संरक्षण क्षेत्र घोषणाको माग
यसैबीचपदयात्रा मार्गमा मोटरबाटो विस्तार, पूर्वाधार अभाव र पर्यटक घटेको विषयमा चिन्ता व्यक्त गर्दै अन्नपूर्ण संरक्षण क्षेत्रको जस्तै धवलागिरिमा पनि संरक्षण क्षेत्र आवश्यक रहेको वक्ताहरुले बताए ।

कार्यक्रममा वक्ताले पदयात्रा मार्गमा मोटरबाटो पुग्दा विदेशी पर्यटक घटेको, धवलागिरि सर्किटमा पूर्वाधार अभाव भएको प्रति चिन्ता व्यक्त गरेका थिए ।

प्रदेश सांसद रेशम जुग्जालीले अन्नपूर्णमा जस्तै धवलागिरिमा पनि संरक्षण क्षेत्र आवश्यक रहेको बताए । उनले भने, ‘तर प्राकृतिक स्रोतसाधनको उपयोगमा वञ्चित गराइने हो कि भनेर स्थानीय सशंकित छन् ।’

म्याग्दीका प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यले धवलागिरि सर्किटमा पूर्वाधार विकासका लागि सरोकारवाला निकायले ध्यान दिनुपर्ने बताए । धवलागिरि गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पुनले धवलागिरि सर्किटसँगै गुर्जाबाट डोल्पा निस्कने रूट, ढोरपाट शिकार आरक्ष जोड्ने रूटको पनि विकास प्रवद्र्धन गर्नुपर्ने उल्लेख गरे ।

टान गण्डकीका अध्यक्ष कृष्ण आचार्यले धवलागिरिलाई एक्यापको मोडेलमा लैजान उपयुक्त हुने बताए । ’केही परिमार्जन आवश्यक होला,’ उनले भने, ’डीक्याप घोषणा गर्न र डीपीआर बनाएर पर्यटनका गतिविधि अघि बढाउनुपर्छ ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->