आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

रुपा गाउँपालिकाको नयाँ भवन

रुपा गाउँपालिकाको नयाँ भवन

२४ कोठे भवन पूर्णतः अपांगमैत्री रहेको छ । तेस्रो तलासम्म पुग्न लिफ्टको व्यवस्था छ भने स्तनपान कक्ष र प्राथमिक उपचार कक्षको समेत प्रबन्ध गरिएको छ ।


  • ढाेरपाटन संवाददाता
  • बैशाख ३१ २०८३, बिहिबार

पोखरा/कास्कीको रुपा गाउँपालिकाको नयाँ प्रशासकीय भवन निर्माण भएको छ ।

२४ कोठे भवन पूर्णतः अपांगमैत्री रहेको छ । तेस्रो तलासम्म पुग्न लिफ्टको व्यवस्था छ भने स्तनपान कक्ष र प्राथमिक उपचार कक्षको समेत प्रबन्ध गरिएको छ । आपत्कालीन निकासका लागि ‘इमर्जेन्सी स्टेयरकेस’ को समेत व्यवस्था छ ।

सुरुमा भवन निर्माणका लागि १० करोड ८७ लाख ६७ हजार १४ रुपैयाँ ४६ पैसा अनुमान गरिएकोमा रमिता इन्फ्रास्ट्रक्चर र मन कन्स्ट्रक्सन जेभीले ७ करोड ७९ लाख ५४ हजार २०९ रुपैयाँ २२ पैसामा (लागत अनुमानभन्दा २०.२३ प्रतिशत कम) निर्माण सम्पन्न गरेको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाका अध्यक्ष नवराज ओझाले भवनको संरचना मात्र नबनाई यसमा रुपाको समग्र इतिहास र पहिचानलाई पनि समेटेको बताए । साविकका पाँचवटा गाविसको सम्मानमा भवनका तला र हलहरूको नामाकरण गरिएको उनको भनाई छ । एउटा तला सिद्ध, अर्को रुपाकोट र अर्को देउराली तलाका रूपमा रहनेछन् भने बैठक कक्षलाई हँसपुर र सभाहललाई थुम्की नामकरण गरिएको उनले जनाए ।

‘पहिला जनताको न्यूनतम आवश्यकता पूरा गर्ने, अनि मात्र आफ्नो सुविधा हेर्ने बाचा अनुसार सडक, वडा भवन, खानेपानीका धारा र भूकम्पपीडितका सुरक्षित ओत तयार भए’, ओझाले भने, ‘अध्यक्षज्यू, सबै बन्यो तर हाम्रो प्रमुख प्रशासकीय भवन चाहिँ किन बनेन ? भनेर मलाई सोध्ने गरिन्थ्यो । मेरो जवाफ सधैँ एउटै हुन्थ्यो, पहिला जनताको सेवा लिने नजिकको सरकारका आधारभूत काम सकौँ, त्यसपछि समय बचे अन्तिममा पालिका भवन बनाउँला । त्यो आज बनेर छाड्यो ।’

गत साउन १ मा शिलान्यास भएको भवन १० महिनाको अवधिमा बनेको हो । भवनको बुधवार उद्घाटन गरिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->