बागलुङ/बजारमा अव्यवस्थित पार्क गरेर हैरान भैरहेको पिकअप र जिपलाई व्यवस्थित बनाइने भएको छ । बिहिबार गलेश्वर यातायात प्रा.लि. स्थापना गरी पिकअप, जिप, ट्याक्सी लगायतका साना सवारी साधनको व्यवस्थापन गर्न लागिएको प्रा.लि.का अध्यक्ष लक्ष्मण केसीले बताए ।
पहिलो चरणमा २८ वटा पिकअप जिप र २ वटा स्कारपियो जिप गरी ३० वटा सवारी साधनबाट प्रा.लि.ले कार्यालय व्यवस्थापन गरेको छ । बागलुङ नगरपालिका–३ को गुठीमा कार्यालय राखेर चिप्लेटी बसपार्क रहेको स्थानलाई पार्क गर्ने स्थल समेत बनाएको हो ।
सरकारले जेठ १ गतेबाट रातो प्लेटका सवारीले यात्री ओसार्न नपाउने नियम ल्याएपछि यहाँका व्यवसायी मिलेर रातो प्लेटलाई कालो बनाइ यात्री सेवा दिने व्यवस्थापन गरेका हुन् । ‘पहिलो चरणमा खाली रहेको चिप्लेटी बसपार्कलाई पार्कस्थल बनाइ टिकट समेत काटेर ग्रामीण बस्तीमा जाने व्यवस्था गर्दैछौं’ केसीले भने, ‘यो व्यवस्थापनले यात्रीहरुले काउन्टरमा आएर टिकट काटेर गन्तव्यमा जाने व्यवस्था हुनेछ ।’ एकदेखि डेढ महिनाभित्र सबै सवारीलाई समावेश गरेर व्यस्थित बनाइसक्ने लक्ष्य छ ।
बगलुङ नगरपालिकाले पनि प्रा.लि.सँग समन्वय गरेर तत्कालका लागि उक्त स्थानमा पार्क गर्न दिने भएको हो । त्यसपछि नगरपालिकाले प्रकृयामा गएर शुल्कसहित पार्क गर्ने व्यवस्थापन गर्दैछ । रातो प्लेटका सवारीलाई अबदेखि बजारका सडक छेउमा पार्क गर्नबाट रोक्ने वातावरणका लागि पनि यो व्यवस्थापन भएको केसीको भनाइ छ ।
जथाभावी पार्क गर्दा दुर्घटना बढ्ने भएकोले रोक्ने अभियान धेरै पहिलादेखि चलेपनि पुरा भएको थिएन । तोकेको समयमा मात्र ती सवारी बजारमा प्रवेश पाउने छन् र यात्री र सामान उठाउने छन् ।
तत्कालका लागि प्रा.लि.मा केसीसहित राजुप्रसाद शर्मा, लोकबहादुर खड्का, गुरुप्रसाद बिक र चित्रबहादुर मल्ल छन् । प्रा.लि.ले २५ लाख रुपैयाँको अक्षयकोष बनाएर क्षतिपुर्ति, राहत लगायतको काममा लगाउने निर्णय पनि गरेको छ । रकम समेत जम्मा भैसकेको केसीले बताए ।





