पोखरा/ नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले वर्तमान सरकार आफ्नैै गल्तीका कारण ढल्ने बताएका छन । एकसय दिनको अवधिमा त्यतिनै गल्ती गरेर सरकार आफै ढल्ने अवस्थामा पुगेको उनको भनाई थियो ।
पोखरामा बिहीबार सुरु भएको पार्टीको विशेष प्रादेशिक भेलालाई सम्बोधन गर्दै उनले सरकारको कार्यशैली पूर्ण रूपमा असफल भएको र यसले आफ्नै गल्तीका कारण पतनको बाटो रोजेको दावी गरे । ‘बनेको ४६ दिन हुँदा ४६ नै गल्ती गरिसकेको छ सरकारले’ उनले भने, ‘सय दिनमा १०१ गल्ती गर्ने सरकार आफैँ ढलेको इतिहास हामीले देखिसकेका छौँ, यो सरकार पनि त्यसै गरी ढल्छ ।’
पार्टीको छवि सुधार्न ठुला कुरा भन्दा पनि साना व्यवहारमा परिवर्तन ल्याउनुपर्नेमा उनले जोड दिए । अमेरिकामा रोजा पार्कले बसको सिट नछोड्ने सानो प्रतिरोध गर्दा ठूलो नागरिक अधिकार आन्दोलन जन्मिएको र महात्मा गान्धीको नुन सत्याग्रहले भारतलाई बदलेको उदाहरण दिँदै उनले भने, ‘हामीले पनि झुक्ने काम त रोक्यौं, अब शिर ठाडो पार्ने काम गर्नुपर्छ ।’
जनताले महसुस गर्ने गरी सेवा प्रवाहमा सुधार ल्याउनुपर्ने भन्दै उनले सेवाग्राहीलाई १५ मिनेटमै सिफारिस दिने र नमस्ते गरेर स्वागत गर्ने शैली अपनाउन आग्रह गरे । ‘ठूलो बजेट भन्दा पनि व्यवहारले जनतालाई खुसी बनाउन सकिन्छ,’ उनले बताए, ‘डेलिभरी दिँदा डिजिटलाइजेशन र ट्र्याकिङ सिस्टम अपनाएमा जनताले अपनत्व महसुस गर्छन् र कांग्रेसको इमेज पनि बदलिन्छ ।’ उनले प्रशासनिक भाषा भन्दा पनि परिणाम दिने भाषा र शैली अपनाउन कार्यकर्तालाई निर्देशन दिए ।
नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको यो दुई दिने विशेष प्रादेशिक भेलामा गण्डकी प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय पदाधिकारी तथा सदस्यहरूको सहभागिता छ । यस्तै प्रदेश सरकारका मन्त्री, प्रदेश सभा सदस्य, जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुख, क्षेत्रीय सभापति, स्थानीय तहका प्रमुख तथा उपप्रमुख र गत निर्वाचनका उम्मेदवारहरू पनि कार्यक्रममा सहभागी छन् । भेलाले प्रदेश र स्थानीय तहको कार्यसम्पादन तथा आगामी चुनावी रणनीतिका बारेमा छलफल गरिरहेको छ ।





