शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

लोकतन्त्रका मूल्यमा सरकारलाई पर जान दिइन्न : महान्यायाधिवक्ता

लोकतन्त्रका मूल्यमा सरकारलाई पर जान दिइन्न : महान्यायाधिवक्ता


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १ २०८३, शुक्रबार

बागलुङ/नेपाल सरकारका महान्यायाधिवक्ता नारायणदत्त कँडेलले कानून र संविधानको पालना गराउने काममा सरकारलाई उचित सल्लाह दिने बताएका छन् । उनले लोकतन्त्रका मूल्य र मान्यताविपरित हुने कुनैपनि कानूनी सल्लाह सरकारलाई नदिने बताएका छन् ।

बिहिबार बागलुङमा आयोजित विभिन्न कार्यक्रममा सहभागि उनले फौजदारी न्यायको क्षेत्रमा थप सुधार गर्न पनि पहल गर्ने बताए । बिहिबार कंडेल उच्च सरकारी वकिलको कार्यालय, जिल्ला सरकारी वकिलको कार्यालय, उच्च अदालत बार एसोसिएसन र नेपाल पत्रकार महासंघ बागलुङको आयोजनामा आयोजित कार्यक्रममा सहभागि थिए ।

उक्त अवसरमा कँडेलले बार एसोसिएसनको कार्यक्रममा संवैधानिक भूमिकामा रहेर काम गर्ने बताए । उनले नेपाल बार एसोसिएसनसँग वर्तमान सरकार मिलेर काम गर्न चाहेको पनि धारणा राखे । त्यसका लागि वातावरण बनाउने काम गरेको पनि उनले बताए ।

सरकारले गर्ने हरेक कामबारे महान्यायाधिवक्ताले चासो नराख्ने, तर संवैधानिक, कानूनी समस्या पर्दा सुझाव दिने गरेको बताए । राज्यलाई प्रेस स्वतन्त्रता, कानूनको शासन लगायतका विषयमा भने सही मार्गमा हिंडाउन पहल गर्ने उनले बताए । त्यसका लागि सकेसम्म राम्रा कार्यक्रम ल्याउने, नराम्रा काम भए सच्याउने उनले प्रतिवद्दता जनाए । उनले कानून व्यवसायी परिषदमा सुधार ल्याउने र सबै कानून व्यवसायीको दक्षता विकासमा पनि ध्यान दिने बताए ।

बारकी अध्यक्ष गीता श्रीष, वरिष्ठ अधिवक्ताहरु कृष्णप्रसाद शर्मा निउरे, हरिप्रसाद शर्मा, भूमिश्वर गौतम र राम शर्मा लगायतले महान्यायाधिवक्ताको कार्यालयले न्यायपालिकामा आएको अस्थिरता र विवाद समाधानमा पनि भूमिका खेल्नुपर्ने सुझाव दिएका थिए । बार अध्यक्ष गीता श्रीषको अध्यक्षता, सचिव उमाशंकर सापकोटाको सञ्चालन र कोषाध्यक्ष रामराजा कँडेलको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।

महान्यायाधिवक्ता भैसकेपछि पहिलो पटक उनी गृहजिल्ला आएका हुन् । उनले जिल्ला र उच्च सरकारी वकिल कार्यालयको अनुगमन पनि गरे । उनले हालसम्म भएका प्रगतीबारे चासो राख्दै अझै चुस्त न्याय प्रशासनका लागि काम गर्न निर्देशन पनि दिए ।

कँडेललाई नेपाल पत्रकार महासंघ बागलुङले पनि सम्मान गरेको छ । २०५८ देखि २०६१ सम्म उनी नेपाल पत्रकार महासंघ धौलागिरी शाखाको अध्यक्ष थिए । सशष्त्र द्वन्द्वको समयमा उनले गरेको पत्रकारिताको यहाँका अग्रजले प्रशंसा समेत गरेका थिए ।

महासंघका अध्यक्ष राम थापा ‘अविरल’ सहितका पदाधिकारीले कँडेललाई सम्मान गरे । महासंघले रजत महोत्सवको अवसरमा पूर्व अध्यक्षको रुपमा कँडेललाई सम्मान गरेको हो ।

कार्यक्रममा महासंघका पुर्व अध्यक्ष रामबहादुर जिसीले कँडेल महान्यायाधिवक्ता बन्दा महासंघको गरिमा बढेको बताए । साथै उनले सरकारले प्रेस स्वतन्त्रता विरोधी काम नगर्न र लोककल्याणकारी विज्ञापनमा राज्यले विभेद नगर्ने वातावरण बनाउन समेत सल्लाह दिन आग्रह गरे । कँडेलले महासंघको गरिमा बढाइ महासंघको हितमा राज्यलाई लाग्न सहयोग गर्ने बताए । काठेखोला गाउँपालिका वडा नंं ५ का कँडेल पत्रकारिता हुँदै कानून व्यवसायमा लाग्दा गत महिना महान्याायधिवक्तामा नियुक्त भएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->