आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

प्रधानमन्त्री ईश्वर हैनन्, नियम–कानून मान्नुपर्छ : सभापति थापा

प्रधानमन्त्री ईश्वर हैनन्, नियम–कानून मान्नुपर्छ : सभापति थापा

सुकुम्बासी र व्यवसायीमाथिको सरकारी रवैयाप्रति आपत्ति


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १ २०८३, शुक्रबार

पोखरा/नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारले सुुकुम्बासी तथा निजी क्षेत्रमाथि गरेको व्यवहारमाथि आपत्ति जनाएका छन् । पछिल्लो समय सरकारले अतिक्रमित जग्गा फिर्ता ल्याउने नाममा सुकुम्बासी बस्तीमामा डोजर चलाएको थियो भने अनियमिततामा संलग्न भन्दै निजी क्षेत्रका प्रतिष्ठित व्यवसायीहरुलाई धरपकड गरेको थियो ।

सभापति थापाले निजी क्षेत्रप्रति देखाएको व्यवहार र नेपाल भारत सीमानामा सर्वसाधारणलाई दिइएको सास्तीप्रति बोल्दै सरकारले संविधानलाई तलमाथि गर्न खोजे कांग्रेसले त्यसलाई रोक्ने चेतावनी दिए ।

पोखरामा बिहीबार आयोजित विशेष प्रादेशिक भेलालाई सम्बोधन गर्दै थापाले भने,‘नियम र कानूनले सबैलाई बाँध्नुपर्छ, तर सरकारले जसलाई मन लाग्यो, उसलाई उठाउने र त्रसित बनाउने काम गरिरहेको छ । म भन्सार लगाउँछु भन्दैमा वर्षौँदेखि जीविका चलाइरहेका नागरिकलाई सास्ती दिन पाइँदैन । सरकारमा नभए पनि नागरिकलाई सजिलो बनाउने र सरकारलाई प्रश्न गर्ने जिम्मेवारी कांग्रेसको हो ।’

सरकारप्रति लक्षित गर्दै उनले कसैसँग कुरा गर्न मन लाग्दैमा वा आवश्यक पर्दैमा मन्त्रीले प्रहरी लगाएर मान्छे उठाउनु अलोकतान्त्रिक पद्धति भएको बताए ।

थापाले वर्तमान सरकार संविधान र कानूनको सीमा मिचेर शासन चलाउन खोजेको आरोप समेत लगाए । उनले सरकारलाई लहड र सनकका आधारमा मुलुक चल्न नसक्ने भन्दै प्रधानमन्त्री ईश्वर नभएको र उनी पनि नियम कानूनमा बाँधिनुपर्ने बताए ।

मुलुकलाई ठूलो मुस्किलले संवैधानिक स्थिरतामा ल्याइएको भन्दै उनले फागुन २१ को निर्वाचन नभएको भए मुलुकको संवैधानिक व्यवस्था नै भंग हुन सक्ने आँकलन रहेकोले सुशीला कार्की नेतृत्वमा सरकार गठन र चुनावी वातावरण निर्माणमा कांग्रेसले सघाएको जिकिर गरे । अहिले कांग्रेस प्रतिपक्षमा भए पनि सरकारका नीति र कार्यक्रममा गुण–दोषका आधारमा प्रश्न गर्ने, विरोध गर्ने र खबरदारी गर्ने काम नरोकिने उनले प्रष्ट पारे ।

नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको यो प्रादेशिक भेलामा गण्डकी प्रदेशका ११ वटै जिल्लाका अगुवाहरूको सहभागिता छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->