तस्बिर : सन्जु कोइराला
बागलुङ/जिल्लामा अटोरिक्सा दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । शक्रबार दिउँसो बागलुङ नगरपालिका वडा नंं १३ पैयुँपाटाको सातबिसेस्थित पानी ट्याङ्की–पैयुपाटा सडक खण्डमा अटोरिक्सा दुर्घटना हुँदा ३ जना घाइते भएका हुन् ।
सातेबिसेबाट पानी ट्याङ्कीतर्फ जाँदै गरेको ग. प्र. ०२००१ ह ०११९ नम्बरको अटोरिक्सा दुर्घटना हुँदा बागलुङ नगरपालिका वडा नं. १३ पैयुँपाटाका ४० वर्षिय दिपेन्द्र पाण्डे, सोही ठाउँकी ६५ वर्षिया दिर्पा पाठक र ७२ वर्षिय डम्बर कुमारी रेग्मी घाइते भएका हुन् । घाइते पाण्डे अटोरिक्सा चालक हुन् ।
घाइते पाण्डेको बायाँ हात र खुट्टा, पाठकको शरीरका विभिन्न भाग र रेग्मीको हातखुट्टा र टाउकोमा चोट लागेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी निरीक्षक कमलजंग थापाले जानकारी दिए । घाइते पाठकको अवस्था गंभीर रहेको छ ।
घाइतेहरुको अहिले धौलागिरी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । अटोमा ४ जना सवार रहेपनि एक जनाको अवस्था भने सामान्य रहेको थापाले बताए ।
चालकले नियन्त्रण गुमाउँदा तीव्र गतिमा गुडेको अटोरिक्सा सडकको नालीमा पल्टिएर दुर्घटनामा परेको प्रहरी निरीक्षक थापाले बताए । दुर्घटनाको खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय बलेवाको टोलीले घाइतेहरुको उद्वार गरेको थियो ।





