पोखरा / कास्कीको मादी गाउँपालिका वडा नम्बर ५ सुनपदेलीमा जुवा खेलिरहेको अवस्थामा ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले बिहीबार साँझ उनीहरूलाई २ लाख ८७ हजार ८ सय ८० रुपैयाँ नगद र ४ बुक ताससहित पक्राउ गरेको हो ।
विशेष सूचनाका आधारमा नेपाल प्रहरी प्रदेश कार्यालय पोखराको प्राविधिक सहयोगमा वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ परेका व्यक्तिहरूको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन ।
जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक हरिबहादुर बस्नेतले पक्राउ परेकाहरूमाथि कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइएको जानकारी दिए । पक्राउ परेकालाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर अन्तर्गत जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने मुद्दामा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले पक्राउ परेका व्यक्तिहरूलाई जिल्ला प्रशासन कार्यालय कास्कीबाट १० दिनको म्याद थप गरी हिरासतमा राखेको छ ।





