पोखरा/ कास्कीको माछापुच्छ्रे गाउँपालिका–९ स्थित मर्दी हिमाल पदमार्ग क्षेत्रको मर्दी भ्युप्वाइन्ट नजिक हराएका एक व्यक्ति मृत फेला परेका छन्। अन्दाजी ४० ४५ वर्षको देखिने मंगोल अनुहार भएका ती पुरुषको शव शनिवार विहान मोदी खोला साइडको खोंचमा भेटिएको थियो । उनी बैशाख ३० गतेदेखि हराइरहेका थिए ।
स्थानीय तह, वडा कार्यालय र सुरक्षाकर्मीमार्फत प्राप्त सूचनाका आधारमा खोजी कार्य भइरहेका बेला शव भेटिएको प्रशासनले जनाएको छ । यसैबीच जिल्ला प्रशासन कार्यालय कास्कीले गृह मन्त्रालयलाई पत्र लेख्दै शव उद्धारका लागि हेलिकप्टर उडान सहजीकरण गरिदिन अनुरोध गरेको छ ।
दुर्गम भौगोलिक अवस्थाका कारण स्थलमार्गबाट शव निकाल्न कठिन भएको भन्दै निजी हेलिकप्टर कम्पनीसँग समन्वय गर्दा तत्काल उडान हुन नसक्ने जानकारी प्राप्त भएकाले नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार उडान सहजीकरण गरिदिन अनुरोध गरिएको हो । घटनाबारे जिल्ला प्रशासन कार्यालयले उपलब्ध गराएको विवरण अनुसार मृतकको नाम ‘भन्ते भन्ने धनबहादुर’ रहेको उल्लेख गरिएको छ ।





