बागलुङ/जिल्लाको काठेखोला गाउँपालिकाको अक्षते बजारदेखि तंग्राम जोड्ने सडक कालोपत्र गर्न शुरु गरिएको छ । काठेखोला–२ को अक्षतेदेखि वडा नं. ४ तंग्राम जोड्ने सडकको १ किलोमिटर ७ सय मिटरखण्ड कालोपत्र गर्न लागिएको हो ।
गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको बजेटबाट अक्षेत–तंग्राम जोड्ने ६ किलोमिटर सडकको १ किलोमिटर ७ सय मिटर खण्ड कालोपत्र हुन लागेको पूर्वाधार विकास कार्यालय बागलुङले जनाएको छ ।
२०८३ असार १५ गतेभित्र काम सम्पन्न गर्नेगरी २०८२ असार १२ गते २ करोड ८९ लाख ८४ हजार रुपियाँमा ठेक्का सम्झौता गरेर निर्माण कम्पनी आर. एस. हिल जेभीले स्तरोन्नतिसहित सडक कालोपत्रको काम गरिरहेको पूर्वाधार विकास कार्यालयका सूचना अधिकारी इन्जिनियर अनिल बर्देवाले जानकारी दिए ।
सडक चौडा पार्ने, पर्खाला लगाउने, रिटनिङवाल र ग्याबिन जाली भर्नेलगायतका काम सकिएकाले धमाधम कालोपत्रको काम भइरहेको आर. एस. हिल जेभीका प्रतिनिधि दिलबहादुर कार्कीले जानकारी दिए । ‘निर्माण सामग्री र पर्याप्त मजदुर परिचालन गरिएकोले वर्षाले कुनै प्रभाव नपारे तोकिएकै समयमा काम सकिन्छ,’ कार्कीले भने ।
इन्जिनियर बर्देवाका अनुसार, १ किलोमिटर ७ सय मिटर सडकमध्ये ८ सय मिटरमा प्रि–मिक्स प्रविधिको कालोपत्र गरिने छ भने ९ सय मिटरमा ढलान गर्ने योजना छ । सडकको भौतिक प्रगति ६० र आर्थिक प्रगति ५८ प्रतिशत रहेको बर्देवाले जानकारी दिए ।
२०५५ सालमा ट्याक खुलेको ग्रामिण सडक जीर्ण हुँदा यात्रा र खाद्यन्न सामग्री ढुवानीमा समस्या थियो । डुडिया खोला र लामाबगरमा मोटरेवल पुल बनिसकेकाले सडक कालोपत्र भएपछि यात्रा सहज हुने काठेखोला–४ तंग्रामका वडा अध्यक्ष लक्ष्मण पुनले बताए ।
बहुवर्षे योजनाअन्तर्गतको सडकमा बजेट विनियोजन हुने र कालोपत्र पनि थपिंदै जाँदा तंग्रामको ठूलोगाउँसम्म सुरक्षित यात्रा गर्न सकिने पुनको भनाइ छ । ‘जीर्ण सडकले हिउँदमा धुलो र वर्षामा हिलोले सास्ती थियो, कालोपत्रपछि सहज होला,’ पुनले भने, ‘सडकले गाउँमा उत्पादन हुने कृषिफसलको बजारीकरणमा टेवा पुग्ने छ ।’
यो सडकलाई गाउँपालिकाले गौरवको योजनामा समावेश गरेको छ । गाउँपालिकाको प्रशासनिक केन्द्र रहेको बिहुँको सुल्डाँडाबाट वडा कार्यालय जोड्ने योजनाअन्तर्गत अक्षते–तंग्राम सडकमा पालिकाको ५० लाख बजेटबाट स्तरोन्नतिको काम भइसकेको छ ।
पालिकाभित्र ३ सय ९८ किमी सडक बनिसकेको छ । ती सडकलाई क, ख र ग खण्डमा विभाजन गरेर सडकको स्तरीकरण गर्दै पूर्वाधारको काम भैरहेको गाउँपालिकाका उपाध्यक्ष तेजबहादुर थापा ‘तिलक’ले बताए । ‘पालिकादेखि वडा कार्यालय जोड्ने ‘क’ वर्गको सडकलाई सेट व्याकसहित १२ मिटर चौडा बनाउने काम भएको छ,’ थापाले भने ।





